अण्डाले कतै मुटुसम्बन्धी रोग त निम्त्याएकाे छैन ?

Egg
लाेकपाटी न्यूज

काठमाडौं । अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा वर्षौंदेखि बहस हुँदै आएको छ । यसको उत्तर हामी प्रत्येक हप्ता कति अण्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनले देखाएको छ ।

दिनमा जम्मा दुईवटा मात्रै अण्डा खाँदा पनि त्यसले मुटुलाई हानि र्पुयाउन र उमेर नपुग्दै मृत्यु हुन सक्ने उक्त अध्ययनले देखाएको छ । अण्डाको पहेँलो भागमा धेरै मात्रामा कलेस्ट्रल हुने कारणले खतरा देखिएको विज्ञहरु बताउँछन् । एउटा ठूलो अण्डामा झन्डै १ सय ८५ मिलिग्राम कलेस्ट्रल हुन्छ । यो मात्रा विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो । सो अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको छ वटा परीक्षणहरूको तथ्याङ्कमा आधारित छ ।

अनुसन्धानकर्ताहरूले प्रतिदिन ३०० मिलिग्राम कलेस्ट्रल खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा १७ प्रतिशतले र उमेर नपुग्दै ज्यान जाने खतरा १८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन् । उनीहरूले हप्तामा तीनदेखि चारवटा अण्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा ६ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा ८ प्रतिशत बढ्ने बताएका छन्। दिनको दुईवटा अण्डा खाँदा पनि त्यसले यी खतराहरू क्रमशस् २७ प्रतिशत र ३४ प्रतिशतले बढाउँछ ।

सो अध्ययन उमेर, शारीरिक क्षमता, सुर्तीसेवन वा उच्च रक्तचापसँग सम्बन्ध नहेरी गरिएको हो । अध्ययनले देखाएको भनेको यदि दुईजना मानिसले उस्तै आहारमा छन् र उनीहरूबीचको फरक भनेको उनीहरूले खाने अण्डा हो भने अण्डा खाने मानिसमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ भन्ने हो, शोधकी एक लेखिका तथा नर्थवेस्टर्न युनिभर्सिटीकी उपप्राध्यापक नोरिना एलेनले भनिन्।

कति खाने त अण्डा ?

त्यसो भए हामीले कतिवटा अण्डा खानुपर्छ त? अध्ययनकर्ता एलेन हप्तामा तीनवटा भन्दा बढी खान नहुने सुझाउँछिन्। उनी अण्डा खान मन पराउनेहरूलाई दिने सुझाव चाहिँ अण्डाको सेतो भाग मात्रै खानु भन्ने हो । मैले मानिसहरूलाई आफ्नो खानेकुराबाट अण्डालाई पूर्ण रूपमा हटाउन भनिरहेकी छैन, उनले भनिन्। म केवल मानिसहरूलाई ठिक्क मात्रामा खान भनिरहेको छु ।

टम स्यान्डर्सले भने यो अध्ययन अमेरिकी नागरिकहरूमा मात्रै केन्द्रित भएको ठान्छन्। स्यान्डर्स भन्छन् औसतमा अमेरिकीहरूले दैनिक खाने कलेस्ट्रल झन्डै ६०० मिलिग्रामसम्म हुनसक्छ जुन ब्रिटेनले प्रतिदिन लिने २२५ मिलिग्रामभन्दा धेरै बढी हो ।

अण्डासम्बन्धी अन्तर्राष्ट्रिय निकाय इन्टन्र्याश्नल एग कमिशनको सन् २०१५ को तथ्याङ्कले अमेरिकीहरू विश्वमा धेरै अण्डा खानेमा पाँचौ देशमा पर्छन्। अमेरिकामा प्रत्येक वर्ष प्रतिव्यक्ति २ सय ५२ वटा अण्डा उपभोग हुन्छ । तर, त्यहाँ २० प्रतिशत मृत्युको कारण मुटुरोग हो ।

प्रतिवर्ष प्रतिव्यक्ति ३ सय २८ वटा अण्डा खाने जापानमा भने मृत्यु हुनेमध्ये ११ प्रतिशत मात्रै मुटुसम्बन्धी रोगका कारण मर्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्