चितवन। भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित राप्ती किनारका बोटे बस्तीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। घर जलेर नष्ट भएपछि पीडित परिवारले राहतका लागि सबैसँग अपील गरेका छन्।
शनिबार अपरान्ह स्थानीय राजु बोट र आइतराम बोटको घरमा आगलागी हुंँदा चार लाखभन्दा बढीको क्षति पुगेको छ। आगलागीबाटका घरमा रहेको खाद्यान्न, लत्ताकपडासहित सबै सामान जलेर नष्ट भएको पद्मोदय युवा क्लबका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए।
अग्निपीडितलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा पटिहानीले केही खाद्यान्न, लत्ताकपडा टेण्ट लगायतका सामाग्री वितरण गरिएको र थप राहतका लागि अनुरोध गरिएको रेडक्रस सोसाइटी शाखा पटिहानीका सभापति कुमार प्रसाद थपलियाले जानकारी दिए।
आगलागी पीडितका लागि राहत जुटाउने काम भइरहेको भरतपुर महानगर–२२ का कार्यवाहक वडाध्यक्ष सोमबहादुर गुरुङले जानकारी दिए। गुरुङले अग्निपीडितको स्थायी बसोबासका लागि सम्बन्धित निकायबाट सहयोगका लागि अनुरोध गरिने पनि बताए। सहयोगका लागि गैरसरकारी र सरकारी सबै क्षेत्रसँग अनुरोध गरिने छ।
आर्थिक रुपमा बिपन्नहरुको बसोबास रहेको बोटे बस्तीमा आगलागी भएपछि पीडित परिवारको बिचल्ली भएको छ। ‘पीडितका लागि राहत जुटाउने काम भइरहेको छ’ पद्मोदय क्लबका अध्यक्ष सेढाईले भने, ‘स्थायी बसोबासका लागि सरकारले नै सहयोग गर्नुपर्छ, त्यसका लागि पहल गर्छौं।’



लाेकपाटी न्यूज

