जानिराखौं, के–के हुन् पानीको कमीले आउने समस्या ?

water-lady drinking
लाेकपाटी न्यूज

काठमाडौं। पानी नै जीवन हो, पानी हाम्रो शरीरमा चाहिने अत्यावश्यक वस्तु पनि हो। करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ। स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न आवश्यक छ।

यद्यपि, शरीरमा विभिन्न कारणले पानीको कमी हुन्छ। पानीको कमीले हाम्रो शरीर विभिन्न समस्याहरु आउँछन्, रोग लाग्छन्। जानौं, पानीको कमीले आउने समस्या।

मृगौलामा समस्याः शरीरमा पानीको कमीले मृर्गौलामा समस्या देखिने गर्छ। रगतमा युरिया र क्रिएटिनाइनको मात्रा बढ्ने भएकाले त्यसले मृर्गौलामा असर पुर्‍याउँछ। पानीको कमी हुँदा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन। फलस्वरूप मृर्गौला कमजोर हुन्छ।

रक्तचापमा कमीः पानीको कमीका कारण एक्कासी शरीरमा रक्तचाप (ब्लडप्रेसर) घट्ने समस्या आउँछ। ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउनेजस्ता समस्या देखा पर्छन्।

चाउरीपन र छाला सुक्खाः शरीरमा पानी कम हुँदा छाला सुक्खा हुने तथा चाउरी पर्ने समस्या हुन्छ। त्यस्तै, मौसमविपरीत ओठ फुट्ने, सुक्खा हुने, चमक हराउने र रुखोपन आउने गर्छ।

एक्कासी मुड परिवर्तनः एक्कासी रिस उठ्ने, झर्किने, बोल्न मन नलाग्ने भएमा पानीको कमी भएछ भन्ने बुझ्नुपर्छ। डिहाइड्रेशन हुँदा मानसिक असर पर्ने भएकाले यो अवस्थामा छिटो मुड परिवर्तन हुने गर्छ।

जोर्नी र मांसपेशीमा समस्याः पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ। पानीको मात्रा कम हुँदा यी दुवैमा पीडा हुन्छ। त्यस्तै, पिँडौला दुख्ने, बाउँडिनेजस्ता समस्यासमेत देखा पर्छ।

पाचनसम्बन्धी समस्याः पानीको कमी हुँदा क्याल्सियम र म्याग्नेसियमको पनि कमी हुन्छ। अनि, पाचनसम्बन्धी समस्या आउँछ। पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेटमा ग्यास जम्मा हुने आदि समस्या देखिन्छ।

टाउको दुख्ने, थकान महशुसः शरीरमा पानीको कमी भएमा थकान महशुस हुने र टाउको भारी भई दुख्ने हुन्छ। पानीको मात्रा अलिकति मात्र कमी हुँदासमेत पूरै शारीरिक प्रणाली नै कमजोर हुन्छ। यसको असरस्वरूप थकान महशुस हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्