जनता दुब्लाए, प्रधानमन्त्री-मन्त्री माेटाए : डिला सङ्ग्राैला

Dila_sangaula
लाेकपाटी न्यूज

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला पन्त संग्रौलाले देशमा भ्रष्टाचार मौलाएको बताएकी छिन् ।

उनले गण्डकी प्रदेशमा जारी जागरण अभियानको क्रममास् शनिबार गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै भ्रष्टाचारले जनता दिनप्रतिदिन गरिब हुँदै गएको तर नेता, मन्त्री र प्रधानमन्त्री मोटाउँदै गएको आरोप लगाएकी हुन् । उनले भ्रष्टाचारले देश डुब्दै जाने विकराल अवस्था आएको बताउँदै सरकारले सुशासन, विकास र समृद्धिको नारा लगाए पनि सरकार चलेको एक वर्षमा भ्रष्टाचार रोक्न नसकेको दाबी गरिन् ।

सुशासन कायम गराउने तथा भ्रष्टाचार रोक्नेतर्फभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान कसरी आफू थप शक्तिशाली बन्ने भन्नेमा केन्द्रित रहेको आरो उनले लगाइन् । हरेक क्षेत्रमा सरकारले नियन्त्रण गर्न खोजेको छ । यो कम्युनिष्टहरूको चरित्र नै हो,’ उनले भनिन्, ‘संविधानविपरीत सरकारले राष्ट्रिय सुरक्षा परिषद विधेयक ल्याएको छ । प्रधानमन्त्रीले चाहेमा सेना प्रयोग गर्न मिल्ने गरी ल्याएको विधेयकको हामीले विरोध गरिराखेका छौं ।’

उनले राष्ट्रिय सुरक्षा परिषदलाई छायामा राखेर प्रधानमन्त्री आफैंले सेना प्रयोगको अधिकार राख्न खोजेको आरोप समेत लगाइन् । ‘सामाजिक सञ्जालमाथि पनि नियन्त्रण गर्न खोजिएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि पनि हस्तक्षेप गरियो,’ उनले भनिन्। सरकार सुध्रिएन भने सडक, सदन र सत्याग्रहमार्फत खबरदारी गरिने उनको भनाइ छ । नेत्रविक्रम चन्द समूहमाथि सरकारले प्रतिबन्ध लगाउनुभन्दा उनीसँग सरकारले वार्ता गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिबन्ध लगाएर समस्याको समाधान ननिस्किने बताउँदै सरकारले वार्ता गर्नुपर्ने माग राखिन् । मेलम्ची, बूढीगण्डकी र वाइड बडी खरिदमा भ्रष्टाचार भए पनि सरकार चुप बसेको उनले आरोप उनको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्