असारभित्रै नेपालमा रेल

Train001
लाेकपाटी न्यूज

काठमाडौं, ९ चैत । अबको दुई साताभित्र रेल खरिद सम्झौता हुने भएको छ । सरकारले चैत ४ गतेको मन्त्रिपरिषद् बैठकबाट रेल खरिद गर्न रकम विनियोजन गरेसँगै अबको दुई सातामा खरदि सम्झौता हुने भएको हो । जनकपुर–जयनगरको रुटमा सञ्चालन गर्नका लागि भारतसँग रेलका डिब्बा खरिद गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो ।

रेल खरिदका लागि स्वीकृती दिएसँगै रेल विभागले सरकारी स्वामित्वको भारतीय कम्पनी कोकन रेल्वे कर्पोरेशनसँग सम्झौताको तयारी गरेको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार मन्त्रिपरिषदले गरेको निर्णयको कपी प्राप्त हुनासाथ कम्पनीलाई सम्झौताका लागि पत्राचार गर्ने जानकारी दिए । उनले पत्राचार गरेको बढीमा १५ दिनभित्र सम्झौता भईसक्ने बताए ।

सम्झौता भएको २ देखि बढिमा ३ महिना भित्रमा रेल आईसक्ने विभागले जनाएको छ । ८४ करोड ६५ लाख रुपैयाँमा ५ डब्बा सहितका २ वटा रेल खरिद गर्ने निर्णय भएपनि पहिलो चरणमा एउटा मात्र रेल आईपुग्ने विभागले जनाएको छ । दोस्रो रेल आउन भने केही समय लाग्नेछ । बर्दिबास-जनकपुर-जयनगर-कुर्था-विजयपुर सम्मको ६९ किलोमिटरको दूरीमा रेल सञ्चालन गर्ने गरी तयारी अघि बढाएको विभागले पहिलो चरणमा जनकपुर-जयनगर खण्डको ३५ किलोमिटरमा मात्र रेल सञ्चालन गर्ने जनाएको छ ।

यसैबीच, नियम र कानून पारितको प्रक्रिया सुरु गर्न रेल विभागले बोर्ड बैठक बोलाएको छ । सोमबार बस्ने बैठकबाट मस्यौदा भएका नियम र कानूनलाई अन्तिम रुप दिईने महानिर्देशक मिश्रले जानकारी दिए । कानूनको अभावमा रेल विभागले आवश्यक कर्मचारीको नियुक्ति लगायतका निर्णय लिन सकेको छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्