दुल्लु, ९ चैत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णालीको विकास नयाँ ढङ्गले गर्ने बताएका छन् । उनले कर्णालीमा भएका प्राकृतिक स्रोत साधनलाई सहीरुपमा परिचालन गरेर असन्तुलीत र वितरणमुखी योजनालाई सन्तुलनमा ल्याई कर्णालीको विकास गरिने बताए ।
कर्णाली प्रदेश योजना आयोगद्वारा शुक्रबार दैलेखमा आयोजित प्रथम आवधिक योजनाको आधारपत्र तर्जुमाका लागि सुझाव सङ्कलन गोष्ठीमा सभामुख शाहीले निश्चित व्यक्तिलाई मात्रै फाइदा पुग्ने खालका विकासे योजनाले मुलुकमा भयावह अवस्था सिर्जना गरेको स्पष्ट पारे । ‘त्यस्तो खाले विकासको परम्परा अब कर्णालीबाट तोडिन्छ’, उनले भने, स्थानीय तहलाई कृषि तथा पशुपालनको केन्द्र बनाउनुपर्नेमा उनको जोड थियो ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले कर्णालीको वास्तविक चित्र कोरिरहेको बताए । ‘प्रदेश सरकारले कर्णालीको विकास र समृद्धिको जग हाल्दैछ’, उनले भने । अब असारे विकासको प्रवृत्ति रोक्ने बताउँदै कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्ग दैलेखको भाग्य रेखा भएको मन्त्री ज्वालाले भनाइ राखे ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबारे सङ्घीय सरकारसँग समन्वय गरी चाँडै टुङ्गो लगाइने उनले बताए । दैलेखमा कृषि प्राविधिक शिक्षालय बनाउने योजना प्रदेश सरकारले टुङ्गो लगाइसकेको छ । दैलेखमा विमानस्थल निर्माणबारे सम्भाव्यता अध्ययन थाल्ने मन्त्री ज्वालाले जानकारी दिए ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले मुलुकका अन्य प्रदेशभन्दा कर्णालीको विकासको ढाँचा फरक रहेको बताए । ‘कर्णालीसँग अन्य प्रदेशभन्दा बढी जल, जमीन र जडीबुटी छ । प्राकृतिक स्रोत सम्पदालाई आधार बनाएर योजना निर्माण गछौँ’, उनले भने ।
योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको सोच, उद्देश्य र रणनीतिबारे जानकारी गराए । कार्यक्रममा दैलेखका ११ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सहभागी थिए ।



लाेकपाटी न्यूज

