काठमाडौं। नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गीरिराजमणि पोखरेल पूर्व स्वास्थ्यमन्त्रीसमेत हुन्। उनी नेता मात्र नभएर शिक्षा र स्वास्थ्य क्षेत्रका विज्ञसमेत मानिन्छन्। कम बोल्ने, प्रचारभन्दा काममा बढी विश्वास गर्ने नेतामा पर्छन् मन्त्री पोखरेल।
मन्त्री पोखरेल गत बिहीबार बिरामी भएर पाटन अस्पतालमा भर्ना भएका छन्। पाटन अस्पताल सरकारी अस्पताल हो। उनको उपचारमा जनरल फिजिसियन प्रा.डा. पारसकुमार आचार्यको टोली संलग्न रहेको छ। स्वास्थ्यमा समस्या अएपछि उनी पाटन अस्पताल भर्ना भएका हुन्।
सुगरको औषधि सेवन गर्दै आएका मन्त्री पोखरेल बिहीबार अपराह्नदेखि अस्पतालमा भर्ना भएका हुन्। पछिल्लो तीन÷चार दिनदेखि उनमा फुड प्वाइजनको समस्या देखिएको बताइएको छ। उनको स्वास्थ्यमा सुधार आएको र १/२ दिनमा डिस्चार्ज हुने उनको सचिवालयले जानकारी दिएको छ।
नेपालका प्रायः नेताहरु बिरामी हुँदा नीजि अस्पतालमा भर्ना हुने गर्दछन्। तर, मन्त्री पोखरेलले भने सरकारी अस्पताल नै रोज्ने गरेका छन्। तर, पोखरेल त्यसको अपवाद हुन्। स्वाइन फ्लूको प्रकोपमा पर्दा होस् या अरु कुनै रोगले लाग्दा उनी कहिले वीर हस्पिटल त कहिले पाटन हस्पिटल पुग्छन्।
गीरिराजमणि पोखरेल त्यस्ता मन्त्री हुन्, जो शिक्षा र स्वास्थ्य क्षेत्रको दायित्व राज्यले लिनुपर्ने मत राख्छन्। स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा रहँदा उनले सरकारी अस्पताल र स्वास्थ्य सेवामा सुधारका लागि उल्लेख्य काम गरेका थिए। पछिल्लोपटक चिकित्सा शिक्षा विधेयक ल्याउन पनि मन्त्री पोखरेलले नै निर्णायक भूमिका खेलेका थिए।
उनले दश वर्षभित्र नीजि विद्यालयलाई प्रतिस्थापन गर्ने योजनामा छन् मन्त्री पोखरेल। त्यसका लागि उनले राष्ट्रिय शिक्षा नीतिमा आमूल परिवर्तनको प्रतिवेदन तयारी पारी प्रधानमन्त्रीलाई बुझाइसकेका छन्। उनको पछिल्लो प्रतिवेदनले राष्ट्रिय राजनीतिमै तरङ्ग ल्याएको छ।
मन्त्री पोखरेल अविवाहित नेता हुन्। महोत्तरीका स्थायी बासिन्दा पोखरेल बर्दिबासकै एक सामुदायिक कम्युनमा बस्छन्। १५ परिवार १५/२० वर्षदेखि सामूहिक आश्रममा बस्दै आएका छन्। मन्त्री नहुँदा पोखरेल त्यही आश्रममा बस्छन्, त्यहीको सामूहिक मेसमा खाना खान्छन्। सँगै मिलेर बस्छन्।
पोखरेल सादगी नेता मानिन्छन्। उनले सरकारी अस्पताल रोज्नुको एक मात्र उद्धेश्य सरकारी संरचनालाई प्रोत्साहित गर्नु हो। नीजि क्षेत्रको बोलवाला रहेको देशमा नेताहरुले सरकारी अस्पतालाई माया गरे सरकार र सरकारी क्षेत्र बलियो हुने उनको विश्वास छ।
त्यही विश्वास र सामूहिक चेतनाको भाव बोकेका मन्त्री पोखरेलको रोजाइमा सधैं सरकारी क्षेत्र पर्छ। त्यसैकारण यसपटक पनि उनी सरकारी अस्पतालमा भर्ना भएका हुन्। उनको यस कार्यले सरकारी क्षेत्र प्रोत्साहित हुनेछ, अरु नेताले पनि उनीबाट सिक्ने कि !



लाेकपाटी न्यूज

