हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ

hemanta-prakash-oli
लाेकपाटी न्यूज

काठमाडौं, ९ चैत्र। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन्।

मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन्। शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिए।

ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन्।

उनीहरु सबै गाडीमा भाग्न लागेको अबस्थामा पक्राउ परेका हुन्। ओलीकै योजनामा फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट भएको प्रहरीको निष्कर्ष छ ।

विस्फोटमा एकजनाको मृत्यु भएको थियो। ओली नेकपाका तेस्रो नम्बरका नेता हुन्। ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए।

केही दिनअघि पनि ओली पक्राउ परेको समाचार सार्वजनिक भएको थियो। तर, उनी त्यसबेला पक्राउ परेनन्। ओली प्रहरीको घेराबाट फुत्किएका थिए। उक्त घटनामा उनका सहयोगीसहित पाँच जना कार्यकर्ता पक्राउ परेका थिए।

मध्य कमाण्डका इञ्चार्ज रहेका ओलीले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै विज्ञप्तिसमेत निकालेका थिए। ईञ्चार्ज ओली काभ्रे जिल्लामै रहेको सूचनाका आधारमा उनको खोजी तीब्र पारिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्