नयाँ दिल्ली, ८ चैत । लोकसभा चुनावका लागि सत्तारुढ भारतीय जनता पार्टीकोे उम्मेदवारको पहिलो सूची सार्वजनिक भएको छ । बिहीवार राति बीजेपीका वरिष्ठ नेता, केन्द्रीय मन्त्री र पार्टीको केन्द्रीय चुनाव समितिका सचिव जेपी नड्डाले १ सय ८४ जना उम्मेदवारबारे टुङ्गो लगाएका हुन्।
सूची सार्वजनिक गरिनुअघि बीजेपीका कैयौँ ठूला नेता त्यसमा नसमेटिने खबर बाहिर आएको थियो । तर, जेपी नड्डाले उम्मेदवारहरूको घोषणा गर्न थालेपछि पार्टी अध्यक्षको नाम आउँदा धेरैजना आश्चर्यमा परे । अध्यक्ष अमित शाह गान्धीनगरबाट चुनाव लड्नेछन्। बीजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणी गान्धीनगरबाट निर्वाचित वर्तमान सांसद हुन्। शाह राज्यसभाका सदस्य हुन् र पहिलो पटक उनी लोकसभाका लागि उठ्ने भएका हुन् ।
उम्मेदवारहरूको सूचीमा आडवाणीको नाम छैन । नड्डाले त्यसबारे केही नभने पनि आडवाणीलाई बीजेपीले पाखा लगाएको बुझ्न सकिन्छ । वरिष्ठ नेता आडवाणीलाई नसमेटिएकोमा त्यसप्रति असन्तुष्टियुक्त एउटा ट्वीट विपक्षी कांग्रेस आईका प्रवक्ता रणदीप सिंह सुरजेवालाले गरेका छन्।बीजेपीले उत्तर प्रदेशको कुल ८० सीटमध्ये अहिलेलाई २८ मा उम्मेदवार घोषणा गरेको छ ।जसअनुसार बहालवाला छ जना सांसदलाई सूचीमा समेटिएको छैन । जसमा वरिष्ठ नेता तथा पूर्वअध्यक्ष मुरली मनोहर जोशीको पनि नाम छैन ।
प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पनि वाराणसीबाट प्रतिस्पर्धा गर्ने भएका छन्। मोदीविरुद्ध भीम आर्मीका संस्थापक चन्द्रशेखर आजादले चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका छन्। उनले कांग्रेस आई र अरू पार्टीहरूलाई पनि समर्थनका निम्ति आह्वान गर्ने बताएका छन्।
गृहमन्त्री राजनाथ सिंह लखनऊबाट, स्मृति ईरानी अमेठीबाट र विदेश राज्यमन्त्री जनरल वीके सिंह गाजियाबादबाट चुनावमा उठ्ने भएका छन्। स्मृति ईरानीको सामना कांग्रेस आईका अध्यक्ष राहुल गान्धीसँग हुनेछ । हेमा मालिनी मथुराबाटै उठ्नेछिन्। केन्द्रीय संस्कृतिमन्त्री महेश शर्मालाई नोएडाबाटै उठाइएको छ भने अर्का केन्द्रीय मन्त्री नितिन गडकरी नागपुरबाटै उठ्नेछन्।
यसपटक सीटको बाँडफाँट विधानसभा चुनावको परिणामलाई ध्यानमा राखेर गरिएको जानकारहरुको भनाइ छ । त्यस्तै नेताहरूको कामलाई पनि हेरिएको बताइएको छ । भारतमा लोकसभाको चुनाव आउँदो एप्रिल ११ मा शुरू भई मे १९ मा सकिनेछ ।



लाेकपाटी न्यूज

