चैत ८ । नेपालगञ्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका अत्याधुनिक (डिजिटल) बस बिसौनीले सौन्दर्य बढाएको छ। सात करोडको लागतमा नेपालगञ्जको राँझा चोकदेखि ट्राफिक चोकसम्म सुर्खेत रोडका २१ स्थानमा अत्याधुनिक बस बिसौनी निर्माण भएका छन्।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले डिजिटल बस बिसौनीले नगरको सौन्दर्यतासँगै यातायात व्यवस्थापन र यात्रुलाई समेत सहजता भएको बताए। “नगर बसले जहाँ मन लाग्यो, त्यही रोकेर यात्रु झार्ने र चढाउने काम गर्दै आएका थिए, अब त्यसो हुँदैन”, श्रेष्ठले भने, “अब यात्रु बिसौनीमा बस पर्खिनेछन् र त्यहीबाट चढ्ने र झर्ने गर्दछन्।”
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बिपी चोक, धम्बोझी चोक, गणेशमानचोक लगायतका मुख्यमुख्य स्थानमा अत्याधुनिक बस बिसौनी निर्माण भइसकेको र अन्य बाँकी स्थानमा समेत निर्माण कार्य भइरहेको जानकारी दिए।
उनका अनुसार, निजी क्षेत्रको एपेक्स नेपाल प्रालिले निर्माण शुरु गरेको बस बिसौनी तथा ट्राफिक बुथको काम दुई हप्ताभित्रै सकिने योजना रहेको छ। यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले एपेक्स नेपाल प्रालिसँग १० वर्षका लागि वार्षिक रु. १५ लाख २६ हजार ३०० मा सम्झौता गरेको छ। निर्माण कार्यको सम्पूर्ण खर्च एपेक्सकै रहने र त्योवापत एपेक्सले बस बिसौनीमा विज्ञापन गर्न पाउनेछ।
एपेक्स नेपाल प्रालिका निर्देशक कृष्णप्रसाद आचार्यका अनुसार अत्याधुनिक बस बिसौनीमा विभिन्न प्रचार सामग्री सुन्दर किसिमले राखिने र यात्रुका लागि घामपानीमा ओत लाग्ने स्थानकोसमेत व्यवस्था गरिएको छ। उनका अनुसार नगरलाई सुन्दर बनाउन र ऊर्जा बचतका लागि सोलारको व्यवस्था गरेर रातिमा बत्ती बल्ने अत्याधुनिक बस बिसौनी बन्दैछन्।
यसले शहरलाई सुन्दर बनाउँछ। नेपालगञ्जको सौन्दर्यमा यसले शोभा बढाउनेछ। डिजिटल बस बिसौनी निर्माण कार्य हेर्दै गरेका स्थानीय तथा बटुवासमेत निकै खुशी छन्। रातिमा समेत सोलारमार्फत बत्ती बल्ने डिजिटल बस बिसौनी नेपालगञ्जमा पनि देख्दा वातावरण अधिकारकर्मी तेजविक्रम शाह दङ्ग छन्।
“हेर्दासमेत आकर्षक देखिने डिजिटल बस बिसौनीले नेपालगञ्जको सुन्दरता बढाएको छ”, शाहले भने, “यो सुन्दरताका साथै शहरका लागि वातावरणमैत्रीसमेत रहेको छ।” एपेक्स नेपाल प्रालिले नेपालगञ्जमा डिजिटल बस बिसौनीसँगै १० स्थानमा ट्राफिक कक्ष निर्माण कार्यसमेत शुरु गरेको छ।



लाेकपाटी न्यूज

