काठमाडौँ, ८ चैत । यही चैत १६ गते नेपाल बार एशोसिएसनको निर्वाचन हुँदैछ। निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूहसँग राष्ट्रिय जनता पार्टी (राजपा) निकट र देशभक्त कानूनी व्यवसायीसँग सहकार्य गर्ने घोषणा गरेका छन्।
बारको यही चैत १६ गते हुने २५ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूहसँग राजपा निकट राष्ट्रिय कानून व्यवसायी र देशभक्त कानून व्यवसायीले सहकार्य गर्ने घोषणा गरिएको हो।
राजपाका सहायक महासचिव तथा अधिवक्ता हरेन्द्रराय यादवले आफ्नो पार्टी सरकारबाट फिर्ता भए पनि लामो समयसम्म आफूहरुले प्रगतिशील समूहसँग सहकार्य गरेर अघि बढ्दै आएको बताए। सो समूहसँग ३५० मतदाता छन्।
देशभक्त कानून व्यवसायीका कार्यवाहक अध्यक्ष राजकुमार थापाले चुनावी तालमेलका लागि प्रगतिशील समूह भएको बताए। सो समूहसँग २०० मतदाता छन्।
दुई कानून व्यवसायी समूहलाई प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले स्वागत गर्दै बारले न्यायपालिकाकालाई स्वतन्त्र बनाउन र व्यावसायिक बार बनाउनका लागि सो समूह विजयी हुने बताए।
सो चुनावी सहकार्यको घोषणासँग प्रगतिशील समूहमा ५५० मत थपिएको छ। बारको २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ।
देशभरका १० हजार ३१३ मतदाताले ३५ मतदान केन्द्रबाट मत हाल्नेछन्। केन्द्रीय कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।



लाेकपाटी न्यूज

