काठमाडौं, ७ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समग्र जग्गा प्रशासनलाई व्यवस्थित गर्ने गरी काम गर्न कर्मचारीलाई आग्रह गरेकी छिन् ।
बिहीबार दोस्रो विश्व नापी दिवसको सन्दर्भमा नापी विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समग्र जग्गा प्रशासनलाई व्यवस्थित गर्ने कुरामा सफलता मिल्नेगरी काम गर्न आग्रह गरेकी हुन् । जग्गा प्रशासनका सन्दर्भमा धेरै काम गर्न बाँकी रहेको भन्दै मन्त्री अर्यालले अब हरेक कुरामा प्रविधिको प्रयोग गरेर जानुपर्ने बताइन् । ‘अब हामीले हरेक चिजमा प्रविधिको प्रयोग गर्नुपर्छ’ , उनले भनिन्, ‘नापीसँग जोडिएका प्रविधिलाई आएकालाई अधिकतम प्रयोग गर्ने र अझै बढी आधुनिक प्रविधिहरु भित्राउने र भूमिलाई व्यवस्थित गर्ने ।’
मन्त्री अर्यालले अहिले कानुन बन्नेक्रममा रहेको बताउँदै समग्रमा जग्गा व्यवस्थापनको कानुन बन्न नसकेको बताइन् । आफुहरु यसमा लागि परेको उनको भनाइ छ । भूमि मन्त्रालय अन्तर्गतको कार्यालयहरुको छबि जनतामाझमा बिग्रिएको भन्दै मन्त्री अर्यालले बिग्रेको छबि सुधार गर्ने कुरामा आफू चिन्तित रहेको बताइन् । अहिले अप्ठ्यारो परिस्थिति रहेको भन्दै उनले ती कार्यालयहरुको शुद्धताका निम्ती सहयोग गर्न कर्मचारीलाई आग्रह समेत गरेकी छिन् ।
‘मन्त्रालयको काँधमा आएको अभिभारालाई पुरा गर्नका निम्ति तपाईहरुले हामीलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ’ उनले भनिन्, ‘तपाईहरुको संस्था पेशागत हकहितको कुरा मात्रै गर्ने नभएर तपाईहरुपनि यो देशको नागरिक भएकोले राष्ट्रको उन्नति, प्रगति, विकासका निम्ति, सुशासनका निम्ति तपाईहरुले पनि हामीलाई सहयोग गर्नुस् । राज्यलाई सहयोग गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ ।’



लाेकपाटी न्यूज

