काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबारबाट शुरु भएको जनताको जलविद्युत् आयोजना कार्यक्रमको उद्घाटन गरेका छन् । जलविद्युत आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यसहित घोषणा गरेको उक्त आयोजना कार्यक्रम आजबाट शुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले त्रिशुली ३ बि जलविद्युत आयोजनाको साधारण शेयर ९आइपिओ० को १० हजार कित्ता शेयर खरिदका लागि आवेदन गरेका छन् । प्रधानमन्त्री ओली यस शेयरका पहिलो आवेदनकर्ता हन् ।यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताको आवेदन गरेकी छिन् ।
उर्जामन्त्री बर्षमान पुन ‘अनन्त’ ले १ हजार कित्ता र पूर्व सभामुख ओनसरी घर्ती मगरले २ हजार कित्ताको आवेदन गर्नुभएको छ । शेयर खरिद गरेपछि प्रधानमन्त्री ओलीले आज नयाँ अभ्यासको थालनी भएको बताए । ओलीले आम सर्वसारधणलाई यस प्रकारका आयोजनामा लगानी गर्न प्रोत्साहित गर्न आफूले पहिलो शेयर खरिदका लागि आवेदन दिएको बताए ।
प्रधानमन्त्री ओलीले मौरीले थोरै थोरै फूलको रस संकलन गरेर धेरै मह जम्मा गरेजस्तै नेपालीको थोरै थोरै लगानीले ठुला आयोजनाहरु निर्माण गर्न सकिने बताए । ‘मौरीले फूलको थोरै रस संलकन गरेर मह जम्मा गरे जस्तै हामीले थोरै थोरै लगानीमा सबै जनतालाई सहभागिता गराएर ठुला आयोजनाको निर्माण गर्न सक्छौं’ उनले भने, ‘यस्तो अभियान पर्यटन,कृषि आदिका क्षेत्रमा पनि सञ्चालन गर्न सकिन्छ ।’
वहालवाला तथा सेवा निवृत भइसकेका पूर्व शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीहरुले पनि यस्ता आयोजनाहरु सञ्चालन गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘यो कार्य आफ्नो देश आफैं बनाउँ अभियानको सुरुवात हो’ उनले भने, ‘यसमा सहभागी हुनका लागि विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई म आह्वान गर्दछु । यस्तो अभियानले देशलाई छिटो समृद्धिमा पुर्याउन सकिन्छ ।’
कम्पनीले प्रति कित्ता सय रुपैयाँको दरमा सर्वसाधारणको लागि छुट्टाएको ३७ लाख ५ हजार कित्ता मध्ये १० प्रतिशत अग्रिम रुपमा शेयर निष्काशन गर्ने भएको हो । सोही शेयर खरिदका लागि उनले आवेदन दिएका हुन् ।



लाेकपाटी न्यूज

