दुई दिनमा बीजेपीका २३ नेताले गरे पार्टी त्याग

PM Narendra Modi
लाेकपाटी न्यूज

नयाँ दिल्ली, ७ चैत । भारतमा आम चुनावको पूर्वसन्ध्यामा बीजेपीबाट दुई दिनमा महत्वपूर्ण २३ नेताले पार्टी त्याग गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दल बीजेपीबाट महत्वपूर्ण २३ नेताले पार्टी त्याग गर्दा सत्ताधारी पार्टी भारतीय जनता पार्टी बीजेपीलाई ठूलो झट्का लागेको छ । यसले आम चुनावमा बीजेपीलाई गहिरो असर पर्ने अनुमान गरिएको छ । मंगलबार अरुणाचल प्रदेशमा मात्र बीजेपीको तर्फबाट मन्त्री रहेका २ नेता तथा ६ विधायक समेत गरी २० नेताले पार्टी त्याग गरे । उनीहरु नेसनल पिपल्स पार्टी एनपीपीमा प्रवेश गरेको जनाइएको छ ।

गृह मन्त्री कुमार वाई, पर्यटन मन्त्री जरकार गामलिन, बीजेपी महासचिव जरपुम गामबिन लगायतका नेताहरु एनपीपीमा प्रवेश गरेका हुन्। यससँगै राज्य विधानसभामा एनपीपीका विधायकहरुको संख्या १३ पुगेको छ । यद्यपी ६० सदस्यीय विधानसभामा अझै बीजेपीसँग ४० विधायकहरुको समर्थन छ ।

भारतका अन्य प्रदेशहरुमा समेत बीजेपीका नेताहरुले पार्टी त्याग गरेर अन्य दलमा प्रवेश गरेको जनाइएको छ । भारतमा आम चुनाव आगामी अप्रिल ११ तारिखदेखि सुरु हुनेछ । ७ चरणमा हुने उक्त चुनावले १७ औं लोकसभा गठन गर्नेछ ।