जाजरकोट, ७ चैत । जाजरकोट अस्पतालमा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गरिँदै आएको छ ।
पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा. महेश सेजुवालले जानकारी दिए । झाडापखाला र टाउको दुखाइलगायत रोगका बढी बिरामी उपचारका लागि आएको उनले बताए ।
निर्माण व्यवसायीको लापरवाहीका कारण अस्पतालका भवन पाँच वर्षदेखि निर्माण नहुँदा बिरामीको चाप बढेका बेला भुइँमा राखेर उपचार गराउनु परेकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतको भनाइ छ । एउटा श्ययामा दुई बिरामी राखेर उपचार गर्दा पनि ठाउँ नपुग्दा भुइँमा राखेर उपचार गर्नुपरेको स्वास्थ्यकर्मी लालबहादुर बस्नेत बताउँछन् ।
उक्त अस्पतालमा विशेषज्ञ सेवा पाइने भएपछि बिरामीको भीड लाग्ने गरेको छ ।नेपालगञ्जलगायत देशका विभिन्न शहरमा गएर उपचार गर्न जानुपरेकामा यस अस्पतालमा विशेषज्ञ सेवाका साथै शल्यक्रियासमेत पाइन थालेपछि बिरामीको भीड लागेकोे हो । विसं २०३२ मा निर्माण गरिएको भवन जीर्ण हुँदै गएकामा अस्पताललाई स्तरोन्नति गरिएपनि प्रभावकारी उपचारमा समस्या पर्दै आएको हो । अहिले उक्त अस्पतालमा डोल्पा र रुकुमका समेत बिरामी आउने गरेका छन् । यता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यसै आवमा रु ५२ करोडको लागतमा भवन निर्माणका लागिबोलपत्र आह्वान हुनलागेको बताए ।
जिल्लाका नलगाड नगरपालिकालगायत अन्य ठाउँका स्वास्थ्य भवन निर्माण नगर्ने निर्माण व्यावसायीको ठेक्का तोडिएको छ ।



लाेकपाटी न्यूज

