पञ्जाव नेशनल बैंक घोटालाका अभियुक्त मोदी पक्राउ

Nirab Modi
लाेकपाटी न्यूज

नयाँ दिल्ली, ६ चैत । पञ्जाव नेशनल बैंक घोटालाका मुख्य आरोपी नीरव मोदी पक्राउ परेका छन्। मोदीलाई लण्डनमा गिरफ्तार गरिएको हो । उनलाई बुधबार दिउँसो साढे ३ बजे वेस्टमिन्स्टर कोर्टमा पेश गरिएको छ ।

मोदीलाई पञ्जाब नेशनल बैंकबाट १३ हजार करोड रुपैया भन्दा धेरै घोटाला गरेको अभियोग लागेको थियो । अदालतमा पेश भएसँगै उनलाई भारतमा प्रत्यर्पणको विषयमा पनि सुनवाई सुरु हुने छ । यससँगै भारतको प्रवर्तन मन्त्रालयले भारतमा मोदीको नाममा रहेको सम्पत्ति बेच्ने तयारी समेत सुरु गरेको पनि स्रोतलाई उद्दृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

वेस्टमिन्स्टर कोर्टले भारतको प्रवर्तन निर्देशनालयको प्रत्यर्पण गर्न माग गर्दै दायर रिटको जवाफमा मोदी विरुद्ध वारेन्ट जारी गरेको थियो । सो आदेशसँगै प्रहरीले मोदीलाई खोज्न सुरु गरेको थियो ।

यता मोदी पक्राउको विषयलाई भारतमा भने नरेन्द्र मोदीको सफलतासँग जोडेर टिप्पणी गर्न सुरु गरिएको छ । आसन्न चुनाव अघि उनलाई पनि भारत भित्र्याउन सके भने मोदीलाई यसले फाईदा गर्ने विश्लेषण गरिएको छ । यद्यपि प्रत्यार्पणको लागि भने बेलायतको अदालतले अनुमति दिने नदिने स्पष्ट भएको छैन ।