इमरान खानले दिए होलीको शुभकामना

Imran_Khan
लाेकपाटी न्यूज

काठमाडौं, ६ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले होलीको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

उनले बुधबार आफ्नो आधिकारिक ट्वीट मार्फत् सबै हिन्दूहरुमा रंगहरुको पर्वको शुभकामना दिएका हुन् । कूल २ प्रतिशत हिन्दू रहेको सो मुलुक एउटा इस्लामिक राष्ट्र हो । हिन्दूहरु बढी उत्पीडित रहेको भन्ने आरोप लाग्ने गरेको पाकिस्तानका प्रधामन्त्रीले दिएको यो शुभकामनाले पाकिस्तानमा पनि धार्मिक सद्भावको सन्देश फैलाएको छ ।

ऐतिहासिक तथा पौराणिक ग्रन्थहरुको आधारमा हेर्दा होलीको सुरुवात पाकिस्तानबाट सुरु भएको हो पुष्टि भएको छ । जहाँ अहिलेजम्मा २ प्रतिशत मात्रै हिन्दूहरुको बसोबास छ । पाकिस्तानको मुल्तान भन्ने नगरबाट नै होलीको पौराणिक कहानीको विकास भएको कुरा प्रमाणित भएको छ । अहिलेपनि सो स्थानमा भक्त प्रह्लादसँग जोडिएको मन्दिरको भग्नावशष भेटिएको छ । त्यही भग्नावशेषमा एउटा खाँबो पनि भेटिएको छ । जहाँ भक्त प्रह्लादलाई बाँधिएको थियो ।

भारतसँग विभाजित भईसकेपछि जसरी हिन्दूहरुको मन्दिरमाथि अनेक किसिमका हस्तक्षेप गर्ने चलन नै चल्यो त्यसको चपेटामा त्यो मन्दिर पनि नष्टप्रायः भईसकेको छ । तर यसको केही अवशेष भने अझै जीवित रहेको छ । त्यहाँका अल्पसंख्यक हिन्दूहरु अहिले पनि त्यही मन्दिरमा पुगेर होली उत्सव मनाउने गरेका छन् । यो पर्व नेपालमात्रै होइन धार्मिक रुपले अतिवादी मुलुकहरुमा समेत सम्प्रदायिक सद्भाव जोड्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ ।

वैदिक युगमा होलीलाई ‘नवान्नेष्टि यज्ञ’ को रुपमा चिन्ने गरिएको थियो । किनकी यो समयमा खेतबारीमा पाकेका खेतीहरु घरमा भित्र्याईसकेको हुन्छ । होलीमा जौ तथा गेहुँको बाली तथा चनाको परिकार बनाएर प्रसादको रुपमा बाँड्ने गरिएको छ । होलीको दिन आगोमा समेत नयाँ अन्न होम गर्ने गरिएको छ । शास्त्रले आफूले उत्पादन गरेको खाद्यान्य पौष्टिक युक्त र खान योग्य छ भन्ने प्रमाणको लागि यस दिन ‘नवान्नेष्टि यज्ञ’ गर्ने गरिएको हो ।

यो दिन नवोन्मेष खेती तथा किसानीको सम्पन्नताको द्योतक हो । जुन नेपाल तथा भारतको ग्रामीण भेगमा अझै पनि प्रचलनमा रहेको छ । यसरी यो पर्व उत्सवधर्मिता आहार तथा पोषणको समेत प्रतीक मान्ने गरिएको छ । जुन धरती तथा अन्नको सनातन सम्बन्धलाई जोड्ने काम गरेको छ ।