विप्लव नेकपाका पाँच नेता पक्राउ

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, ६ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीका मुख्य सहयोगी नुमबहादुर विकसहित पाँच नेता पक्राउ परेका छन् ।

प्रहरीले सुदर्शनका मुख्य सहयोगी नुमबहादुर विकसहित नख्खु विस्फोटमा संलग्न तीनजना काभ्रेबाट पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले उनीहरूसहित नख्खु विस्फोटमा संलग्न विप्लव समूहका शिव धिमाल, डिकेन्द्र राई र विशाल तामाङलाई पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरको कमान्डमा खटिएको प्रहरी टोलीले मंगलबार राति काभ्रेबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ । काभ्रेको रोशी गाउँपालिका १, काफल डाँडामा मंगलबार राति प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको थियो ।

केही समयअघि ललितपुर नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयअगाडि सडकमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए । सोही घटना अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखाको टोली काभ्रे पुगेको थियो । प्रहरीलाई देख्नेबित्तिकै नेकपाका कार्यकर्तालाई गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरीको भनाइ छ ।

यसबारे विप्लव समूहले भने अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन । सरकारले विप्लव नेकपालाई फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्