‘श्रमलाई उत्पादनसँग जाेडेर गरीबी निवारण गर्छौं’ : मन्त्री अर्याल

padma aryal
लाेकपाटी न्यूज

काठमाडौं, ५ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरीबीको अन्त्य गर्नका निम्ति गरिबी निवारणसम्बन्धी सम्पूर्ण कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

अमेरिका अध्ययन भ्रमणबाट फर्किएका अलम्नाई नेपालीहरूले स्थापना गरेको नेपाल युएस अलम्नाई नेटवर्क (नुसाल)ले अमेरिकी राजदुतावासको सहयोगमा महिला उद्यमशिलता विषयमा आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मुलुकको विकासको ठूलो बाधक भनेको गरीबीर बेरोजगारी भएको भन्दै उनले त्यसलाई कसरी जित्ने भन्ने ठूलो चुनौती रहेको औंल्याइन् ।

सरकारले अहिले गरिब पहिचान गर्ने कार्यमा लागिरहेको भन्दै गरिब पहिचान भइसकेपछि उनीहरूलाई कसरी धनी बनाउने भनेर निश्चित कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । ‘गरीबी निवारणका सबै कार्यक्रमहरूबीच समन्वयको आवश्यकता छ । एकीकृत, प्रभावकारी र परिणाममुखी बनाउन सबै कार्यक्रमका बीचमा समन्वय आवश्यक छ । त्यसका लागि हामी लागिरहेका छौ’, मन्त्री अर्यालले भनिन् ।

गरीब पहिचान गरिसकेपछि सरकारले गरीबी निवारण कसरी गर्ने भनेर सात वटै प्रदेशमा कार्यक्रम बनाउने मन्त्री अर्यालले बताइन् । गरिबीको अन्त्य गर्नका निम्ति उद्यमशिलता प्रमूख आधार भएको भन्दै उनले सहकारीमार्फत सबैलाई उत्पादनसँग जोडेर बेरोजगारलाई काम दिने कार्यमा लाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘सबै मान्छेलाई उत्पादनसँग जोडेर जाने । त्यो कार्य सामुहिक रूपमा सहकारीमार्फत गर्ने । उत्पादन पनि कहाँ के आवश्यकता छ भनेर गर्नुपर्छ । त्यसका लागि बजारको माग के छ भनेर त्यसको सम्भाव्यता अध्ययन गरेर मात्रै उत्पादनमा लाग्यौं भने हामी सफल हुन्छौ ।’

मन्त्री अर्यालले धेरैभन्दा धेरै महिलाहरूलाई उद्यमी बनाउन आग्रह गरिन् । कार्यक्रमस्थलमा महिला उद्यमीहरूले उत्पादन गरेको उत्पादनहरूको स्थलगत अवलोकनपछि मन्त्री अर्यालले उद्यमशिलतामा महिलाहरूलाई बढीभन्दा बढी संलग्न गराउन आग्रह गरेकी हुन् । मुलुक सुखी नेपाली समृद्ध नेपालको मूल लक्ष्य लिएर अगाडी बढेको भन्दै मन्त्री अर्यालले सरकार र नीजि क्षेत्र एकीकृत भएर काम गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्