भरतपुर, ५ चैत । भरतपुर महानगरका २२ वटा वडामा रोजगारमुखी तालिम सञ्चालन गरिने भएको छ । भरतपुर महानगरपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)सँग मिलेर रोजगारमुखी तालिम सञ्चालन गर्न लागेको हो ।
महानगरले सीटीईभीटीअन्तर्गतको आंगिक कलेज रहेको स्कुल अफ हेल्थ साइन्स भरतपुरसँग मिलेर रोजगारमुखी तालिम गर्न लागेको हो । भरथपुर महानगर प्रमूख रेनु दाहालले भरतपुर–९ बाट तालिमको सुरूवात गरिएको र विस्तारै अन्य वडाहरुमा पनि सीपमूलक रोजगारमुखी तालिम सञ्चालन गर्न लागिएको जानकारी दिइन् । उनले व्यूटीपार्लर, बेमौसमी तरकारीखेती, कुकिङलगायतका तालिमहरु उपलव्ध गराउने महानगर प्रमुख दाहालले बताइन् ।
महानगरका २२ वटा वडामा तालिम सञ्चालनपछि ४५० भन्दा बढी युवायुवतीहरु सीपमूलक तालिमबाट दक्ष बन्नेछन् ।
सीटीईभीटीका प्रदेश ३ का उपनिर्देशक राजेन्द्र चौधरीले भरतपुर महानगरलगायत प्रदेश ३ का सबै स्थानीय तहहरुमा सीटीईभीटीले यस्ता तालिमहरु सञ्चालन गर्ने जानकारी दिए । उनले भने, ‘तालिम लिनेहरु स्वरोजगार बनी आफ्नो खुट्टामा आफैँ उभिन सक्नेछन् ।’ उनका अनुसार नेपाल सरकारले यस्ता तालिम सातैवटा प्रदेशमा गर्न लागेको छ ।
भरतपुर ९ मा मन्टेश्वरी तालिम सञ्चालन गरिएको वडाध्यक्ष यमलाल कँडेलले बताए । उनले भने, ‘६५ दिनसम्म चल्ने सो तालिममा वडाका ४० जना सहभागी भएका छन् ।’ स्कुल अफ हेल्थ साइन्स भरतपुरका प्रमूख रमण मेहताले सरकारले सीपमूलक तालिम दिएर बेरोजगार मानिसलाई स्वरोजगार बनाउन लागेको बताए ।



लाेकपाटी न्यूज

