सिके राउतको बैठक सकियो, जनमत पार्टीको घोषणा : यी हुन् मूख्य निर्णय (विज्ञप्तिसहित)

CK raut
लाेकपाटी न्यूज

काठमाडौं। पृथकतावादी राजनीतिबाट मुलधारमा आएका डा. सिके राउतको राष्ट्रिय परिषदको बैठक सकिएको छ। बैठकले पार्टीको नाम जनमत पार्टी नामाकरण गरेको छ।

३५ सदस्यीय कार्यकारिणी समिति बनाएको जनमत पार्टीले विज्ञप्तिमार्फत् आफ्ना निर्णय सार्वजनिक गरेको छ। यस्ता छन् राउतको राष्ट्रिय परिषद बैठकले लिएका निर्णय, विज्ञप्तिसहित।

प्रेस–विज्ञप्ति

स्वतन्त्र मधेश गठबन्धनको सिरहा जिल्लाको लहान वडा नं.–७ मा चैत्र ३–४ गते बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला) विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ।

निर्णय गरिएका महत्त्वपूर्ण केही बूँदाहरु

स्वतन्त्र मधेश गठबन्धनले “मधेश स्वराज आन्दोलन”मा समर्पित भएर योगदान दिँदै आएका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आम जनताको योगदानको उच्चतम कदर गर्दै स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५।११।२४ गते भएको ११ बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै राष्ट्रिय परिषद्ले सहमतिलाई स्वागत गरेको छ।

केन्द्रीय भेलाले जनताको हक र अधिकारका लागि सङ्घर्ष गर्न नेपालको संविधानभित्र रहेर पार्टी स्थापना गरी अगाडि बढ्ने निर्णय गरेको छ। पार्टीको नाम “जनमत पार्टी” राख्ने निर्णय गरेको छ।

पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रीप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ।

पार्टीको लोगोको रुपमा अष्टदलको छेउमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहने छ। पार्टीको छापमा अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने निर्णय गरेको छ।

पार्टीको चुनाव चिन्हमा “अष्टदल”लाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ।

केन्द्रीय भेलाले पार्टीका लागि ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भएसँगै केन्द्रिय कार्यकारिणी समितिलाई विस्तार गरिनेछ। केन्द्रीय समितिमा थप सदस्य मनोनित गर्ने जिम्मेवारी सर्वसम्मतिले राष्ट्रिय अध्यक्षलाई दिइएको छ।

३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा डा. सिके राउत राष्ट्रिय अध्यक्ष तथा केन्द्रीय सदस्यहरुमा कैलाश महतो (महोत्तरी), राजकुमार यादव (सिरहा), अब्दुल खान (बर्दिया), चन्दन सिंह (महोत्तरी), बबिता इसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरङ), सीताराम पण्डित (सुन्सरी), सुरेन्द्र शर्मा (सप्तरी), सतिला यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), सञ्जय यादव (महोत्तरी), नरेश कुशवाहा (सर्लाही), वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), सञ्जय साह (पर्सा), ध्रुव गौड (नवलपरासी), भोपेन्द्र यादव (रुपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष (बाँके), महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आशा मेहता (सुन्सरी) रहेका छन्। बाँकी १० जना सदस्यहरुमध्ये महिला, दलित, जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेवारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको छ।

स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५।११।२४ गते भएको ११ बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ श्री चन्दन सिंहको संयोजकत्वमा ३ सदस्यीय सहमति कार्यान्वयन समितिलाई सो कार्यको जिम्मेवारी सुम्पेको छ। त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेवारी दिइएको छ।

“जनमत पार्टी”को गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र निस्वार्थ भावले सङ्घर्षरत रहने प्रतिवद्धता भेलाले जाहेर गरेको छ।
“जनमत पार्टी” सम्पूर्ण जनता, पत्रकार, नागरिक समाज, राजनीति पार्टी तथा सामाजिक संघ, संगठनलाई सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध गर्दछ। धन्यवाद !

अब्दुल खान, केन्द्रीय सदस्य–जनमत पार्टी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्