रत्ननगर, ४ चैत । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगरको निपनीचोकमा बुलेरोको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.४ च ४००५ नम्वरको बुलेरोको ठक्करले रत्ननगर १० निवासी १५ बर्षीय बसन्त थापाको मृत्यु भएको हो । मृत्यु हुने थापा लाइसीयम मोडल स्कुलमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् ।
बिहान अतिरिक्त कक्षा पढेर घर फर्किने क्रममा थापालाई बुलेरोले ठक्कर दिएको हो । जेब्राक्रसिङबाट सडक पार गर्न लाग्दा बुलेरोले थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते भएका थापाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको विद्यालयमा प्राचार्य डा. बसन्त अधिकारीले जानकारी दिए ।
विद्यार्थीको मृत्यु पछि आक्रोशित स्थानीयवासी र विद्यार्थीहरुलाई प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले राजमार्ग खुलाउने क्रममा केही स्थानीयवासीलाई नियन्त्रणमा लिएको छ । स्थानीयवासीलाई प्रहरीले नियन्त्रणमा लिएपछि लाइसीयम मोडल स्कुलका सम्पूर्ण विद्यार्थी सडकमा आएका छन् ।
विद्यार्थीले पूर्व पश्चिम राजमार्ग अबरोध गरी घटनाको विरोध गरेका हुन् । प्रहरीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै विद्यार्थीहरुले सडक अवरुद्ध गराएका हुन् । विद्यार्थी र स्थानीयबासीले सडकमा टायर बालेर विरोध प्रर्दशन गरेका छन् ।



लाेकपाटी न्यूज

