स्मार्टफोन तात्नबाट कसरी जोगाउने ? (सजिला ६ उपाय)

smart phone
लाेकपाटी न्यूज

काठमाडौं । स्मार्टफोन धेरै चलाउने मानिसहरुले आफ्नो फोन धेरै तात्ने गरेको गुनासो गर्ने गरेका छन् । आफूले प्रयाग गर्ने स्मार्टफोन सामान्य रुपमा चलाउँदा पनि तात्ने गरेको अनुभव हामी आफैंले पनि गरेकै छौं ।

मोबाइल फोनमा लामो समयसम्म कुराकानी गर्दा, चार्ज गर्दा, गेम खेल्दा वा भिडियो चलाउँदा फोन तात्नु स्वभाविकै हो । तर, स्मार्टफोनमा फिचरहरु थप हुँदै गर्दा त्यसको प्रोसेसरमा चाप पर्नु तथा ब्याट्रीको खपत पनि बढी हुँदा फोन तात्नु नौलो होइन । तर कहिलेकाहीं मोबाइल फोनको हार्डवेयर तथा सफ्टवेयरमा समस्या आउँदा पनि फोन अनावश्यक रुपमा बढ्दा तात्ने गर्दछ ।

मोबाइल फोन बढी तात्ने समस्या कम गर्नका लागि केही उपायहरु अपनाउन सकिन्छ । ती उपायमध्ये केही यी हुन्ः

घाममा नराख्ने
स्मार्टफोनलाई प्रत्यक्ष रुपमा सूर्यको किरण पर्ने तातो घाममा राख्नु हुँदैन । यसो गर्दा फोनको तापक्रम बढ्दछ । प्लास्टिकको ब्याकयुक्त डिजाइन भएका स्मार्टफोनहरु घामले तात्ने समस्या धेरै हुन्छ । अध्ययनअनुसार लामो समयसम्म घाममा राख्नाले फोनको टचस्क्रिनमा समेत नकारात्मक असर पर्दछ । त्यसैले घमाइलो बेला यात्रा गर्दा मोबाइल फोनलाई ब्यागमा राख्नु उपयुक्त हुन्छ ।

सोफा तथा बेडमा राखेर चार्ज नगर्ने
ब्याट्री चार्ज गर्दा स्मार्टफोनले ताप उत्सर्जन गर्दछ । त्यसैले ओछ्यान वा सोफामा राखेर मोबाइल चार्ज गर्नाले मोबाइलबाट निस्कने ताप सोफा वा बेडको सतहले नै रोक्दछ । जसका कारण मोबाइलको तापक्रममा वृद्धि हुन्छ । त्यसैले मोबाइल चार्ज गर्दा भुइँ, टेबुल वा त्यस्तै कडा सतहमा राख्नु पर्दछ ।

चार्ज गर्दा कभर हटाउने
मोबाइल चार्ज गर्दा यसको बाहिरी खोल हटाउँदा राम्रो हुन्छ । खोलले मोबाइलबाट उत्सर्जित तापलाई रोक्दछ जसका कारण त्यो तापले मोबाइललाई नै तताउँदछ । खोल हटाएर चार्ज गर्नाले मोबाइलबाट उत्सर्जित ताप बाहिर जान पाउँदछ जसका कारण मोबाइल तात्न पाउँदैन ।

रातभर चार्जमा राखेर नछाड्ने
हामीमध्ये धेरैजसोले रातमा सुत्ने बेलामा मोबाइल फोन चार्जमा राखेर छाड्छौं । तर, यसो गर्नु राम्रो होइन । यसले मोबाइललाई बढी तताउने मात्र होइन ब्याट्रीको आयुमा पनि नकारात्मक असर पार्दछ ।

ब्याकग्राउण्डमा चल्ने एपहरु हटाउने
मोबाइलमा केही एपहरु यस्ता हुन्छन्, जुन मोबाइल नचलाउँदा समेत पृष्ठभूमिमा चलिरहेका हुन्छन् । त्यसो गर्दा मोबाइलको ब्याट्रीको चार्ज रित्तिने तथा मोबाइलको प्रोसेसिङ्ग क्षमतामा पनि ह्रास आउँदछ । यसले मोबाइल फोनको तात्ने समस्या पनि बढाउँदछ । त्यसैले त्यस्ता एपहरु पहिचान गरी अनस्टल गरिहाल्नु पर्दछ ।

अन्य चार्जर तथा ब्याट्री प्रयोग नगर्ने
कुनैप्नि मोबाइलको ब्याट्री फेर्नुपर्दा वा नयाँ चार्जर प्रयोग गर्नुपर्दा मोबाइल जुन ब्राण्डको हो सोही ब्राण्डको सक्कली चार्जर तथा ब्याट्री प्रयोग गर्नुपर्दछ । अरु ब्राण्ड तथा प्रकारको चार्जर प्रयोग गर्दा यसले ब्याट्रीमा असर पार्ने र मोबाइल तात्ने हुन्छ । बाहिरी ब्याट्री प्रयोग गर्दा पनि चार्जिङ्गमा समस्या उत्पन्न भई मोबाइल फोन तात्ने समस्या आउँदछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्