देशभर समानान्तर कमिटी बनाउने माधव नेपालको चेतावनी

madhav kumar nepal
लाेकपाटी न्यूज

काठमाडौं, ४ चैत । विवादै विवादको चाङ रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को नयाँ विवाद आउने सम्भावना बढेको छ । पार्टीकै एक शीर्ष नेताले देशभर समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएपछि नेकपामा नयाँ विवाद आउने सम्भावना देखिएको हो ।

पछिल्लो पटक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच जिल्ला नेतृत्वका विषयमा सहमति जुटेसँगै वरिष्ठ नेता माधवकुमार नेपालले भने देशभर समानान्तर कमिटी गठनको चेतावनी दिएका छन् । सचिवालयमा सहमति नजुटाई दुई अध्यक्षले मात्र जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारी तोके आफूलाई मान्य नुहने नेता नेपालको चेतावनी छ ।

‘नेता नेपालले सचिवालय बैठकभन्दा बाहिरबाट जिल्ला नेतृत्व टुंग्याए समान्तर कमिटी बनाउने चेतावनी दिनुभएको छ । उहाँलाई फकाउने प्रधानमन्त्री एवम् अध्यक्ष ओलीको प्रयास अझै सफल भएको छैन,’ नेकपाको सचिवालयका एक सदस्यले भने, ‘प्रचण्ड केही दिनका लागि पत्नी सीताको उपचारका लागि अमेरिका उडेपछि यो विषय थप जटिल भएको छ ।’

सरकारले फागुन २४ गते सीके राउत समूहसँग ११ बुँदे सहमति र फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेपछि नेकपाका शीर्ष नेताबीच संवाद शुरु भएको थियो । यस्तो सहमति लगत्तै सचिवालय सदस्यहरु नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो, जहाँ राउतसँग भएको सहमति र पार्टी एकता सम्बन्धी विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्