काठमाडौं, ४ चैत । सरकारले विभिन्न ठूला तथा साना जलविद्युत आयोजनाहरुको सम्भाब्यता, इन्जिनियरिङ, वातावरणीय र विस्तृत अध्ध्यन गर्ने काम तीव्र पारेको छ । सरकारले यसै आर्थिक वर्ष २०७५–७६ भित्रै १३ सय मेगावाटभन्दा बढी क्षमताको आयोजनाको अध्ययन गरेर सक्ने लक्ष्य लिएको छ ।
यसै आर्थिक वर्षमा विद्युत विकास विभागमार्फत ३४० मेगावाटको जलविद्युत आयोजनाको अध्ययन सक्ने लक्ष्य राखेको छ । अध्ययनको चरणमा रहेका ९ वटा आयोजनाको अध्ययन प्रतिवेदन यसै वर्ष तयार गर्ने लक्ष्य लिइएको छ । यही आवबाट थप १२ वटा आयोजनाको पनि अध्ययन शुरु गर्ने विभागको योजना रहेको छ ।
१०२ मेगावाटको दूधकोशी–५ जलविद्युत आयोजनाको अध्ययन यसै वर्ष सक्ने लक्ष्य छ । सोलुखुम्बुको दूधकोशी नदीमा यो आयोजना बन्नेछ । ४७ मेगावाटको दूधकोशी–४ आयोजना पनि यसैवर्ष अध्ययन सकिनेको सूचीमा छ ।
यस्तै ५० मेगावाटको बेनी कालीगण्डकी आयोजनाको अध्ययन पनि यसै आवमा सकिने ऊर्जा मन्त्रालयले जनाएको छ । कालीगण्डकी नदीमा बन्ने यो आयोजना बाग्लुङ, म्याग्दी र पर्वतको सीमा क्षेत्रमा पर्छ ।
४१.०६ मेगावाट क्षमताको संखुवा खोला र ३९.९३ मेगावाटको संखुवाखोला–१ आयोजनाको पनि पनि यसैवर्ष अध्ययन सम्पन्न हुनेछ । यी आयोजना संखुवासभाको संखुवा नदीमा बन्नेछन् ।
म्याग्दीमा बन्ने ३२ मेगावटको म्याग्दी खोला, दार्चुलामा बन्ने १९.२८ मेगावटको तल्लो चमेलिया, जुम्लामा बन्ने ५ मेगावटको भेरी खोला, र रोल्पामा बन्ने ४.४ मेगावाटको लुन्ग्रीखोला आयोजनाको अध्ययन पनि यसै वर्षमा सक्ने सरकारको लक्ष्य छ ।
ठूला आयोजना
ठूला आयोजनाहरुमा पनि अध्ययनको काम तीव्र गतिमा हुँदैछ । सरकारले कालिकोट जिल्लामा निर्माण हुने फुकोट कर्णाली अर्धजलासययुक्त आयोजनाको विस्तृत सम्भाब्यता, इन्जिनियरिङ अध्ययन र वातावरणीय प्रभाव मूल्यांकनको काम यही चैत महिना भित्रै सक्ने गरी अध्ययन भइरहेको जनाएको छ । यो आयोजना ४९२ मेगावाट क्षमताको हो ।
यसै गरी ४८२ मेगावाटको किमाथांका अरुण जलविद्युत आयोजना विस्तृत इन्जिनियरिङ अध्ययन र वातावरणीय अध्ययन २०७६ को असोजभित्रै सक्ने लक्ष्य ऊर्जा मन्त्रालयको छ । ९२ मेगावाटको जगदुल्ला आयोजनाको अध्ययन पनि आगामी साउन भित्र सक्ने गरी काम भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
४१० मेगावाटको नलगाड जलविद्युत आयोजना विस्तृत परियोजना प्रतितवेदन आगामी वैशाखभित्र तयार गर्ने दावी सरकारको छ । यो आयोजनाका लागि २० किलोमिटरको पहुँचमार्ग निर्माण भइसकेको छ भने अब ११ कि.मी सडक बनाउन बाँकी छ ।
सरकारले मुगु कणार्ली जलाशययुक्त आयोजनाको अध्ययन पनि हालसालै शुरु गरेको छ । ७१.५ मेगावाटको यस्तै घुन्सा खोलाको आयोजना प्रतिवेदन तयार गरिँदैछ भने ५३.७ मेगावाटको सिम्बुवा खोला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न प्रक्रिया अघि बढेको छ ।
डेढ वर्षको लक्ष्य के छ ?
यस्तै सरकारले आगामी डेढ वर्षभित्र ३६ सय ९ मेगावाट आयोजनाका अध्ययन पनि सकाउने लक्ष्य दिएको छ । १११६ मेगावाटको सुनकोसी–२, ५३६ मेगावाटको सुनकोसी–३, ३७२ मेगावाटको अरुण–४, ३७९ मेगावाटको तल्लो अरुण, ३७७ मेगावाटको नौमुरे बहुद्देश्यीय आयोजना, २७६ मेगावाटको सेतीखोला ६ लगायतको ठूलो आयोजनाको अध्ययन यही आर्थिक वर्षभित्रै गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
यस्तै ९० मेगावाटको कन्काई बहुउद्देश्यीय, ५० मेगावाटको लोती कर्णाली, ५६ मेगावाटको तल्लो अप्सुवा, १८ मेगावाटको जावा खोला, २० मेगावाटको कवाडी खोला लगायतका आयोजनाको पनि अब डेढ वर्षभित्र अध्ध्यन प्रतिवेदन तयार हुनेछ ।
सरकारले सुरुखोला जलाशययुक्त आयोजना र झिमरुक खोला जलविद्युत आयोजनाको पनि पूर्वसम्भाब्यता अध्ययन सुरु गरेको छ । यी दुई आयोजनाबाट ७८.६ मेगावाट बिजुली उत्पादन हुने अनुमान छ ।
यसैबीच नेपाल विद्युत प्राधिकरणले बितेको एक वर्षमा ८९ आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । यी आयोजना निर्माण भएपछि १ हजार ७ सय ३४ मेगावाट बिजुली उत्पादन हुनेछ ।



लाेकपाटी न्यूज

