विप्लव नेकपालाई कांग्रेसको ६ बुंदे अपील (पूर्णपाठ)

Nepali congress
लाेकपाटी न्यूज

काठमाडौं। विप्लव नेतृत्वको नेकपा र उक्त दललाई प्रतिबन्ध लगाउने सरकारी निर्णयबारे नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै कांग्रेसको धारणा सार्वजनिक गरेका हुन्।

सोमबार बिहान शर्माद्वारा जारी विज्ञप्तिमा नेकपालाई मूलधारको राजनीतिमा आउन अपील गरिएको छ। विज्ञप्तिमा नागरिकको सुरक्षा सरकारको दायित्व भए पनि निषेधको राजनीति नगर्न सरकारलाई सचेत गराइएको छ। यस्तो छ विप्लव नेकपाबारे कांग्रेसको आधिकारिक धारणा, पूर्णपाठ।

केही समय यता देशका विभिन्न स्थानमा भइरहेका हिंसात्मक घटना र त्यसको समाधानका लागि सरकारले अघि बढाएको प्रतिबन्धात्मक कदमका बारे नेपाली कांग्रेस पार्टीको धारणाका सम्बन्धमा कतिपय अस्पष्टता प्रष्ट्याउन यो विज्ञप्ति जारी गरिएको छ ।

१. नेपाली कांग्रेस सबैखालै विमतिको हल राजनीतिक सम्वादका माध्यमबाट खोज्न सकिन्छ र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने मान्यता र दर्शनमा विश्वास राख्दछ।

२. नेत्रविक्रम चन्दले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन नेपाली कांग्रेस सार्वजनिक अपिल गर्दछ।

३. नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो। तर, त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्नँ। अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ।

४. दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न मुलुकले ऐतिहासिक सफलता हासिल गरेको र त्यस मुल नेतृत्व नेपाली कांग्रेसले गरेको हाम्रो ताजा विगत स्मृति गर्दै, आजको मितिमा हिंसात्मक व्रिदोहमा गएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न नेपाली कांग्रेस अपिल गर्दछ।

५. सभापति शेरबहादुर देउवाले चैत्र २ गते पाल्पाको कार्यक्रम मार्फत ‘निषेधले होइन वार्ताले समाधान’ अभिव्यक्त गरिसक्नुभएको छ भने नेता रामचन्द्र पौडेलले कपिलवस्तुको कार्यक्रममार्फत ‘विद्रोहीलाई विश्वासमा लिन नेकपाका दुई अध्यक्षलाई विशेष योग्यता प्रस्तुत गर्न’ अपिल गरिसक्नुभएको छ।

६. नेपाली कांग्रेस पार्टीको साझा विश्वास र साझा धारणा ‘शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान’ रहेको तथ्य पुनः प्रष्ट्याउँदै दुवै कम्युनिष्ट पार्टीलाई लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको सास फेरिरहेको मुलुकमा फेरि नागरिक जीवनमाथि खेलवाड नगर्न सचेत गराउँदछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्