काठमाडौं। नेपााली कांग्रेसले सेना परिचालन गर्ने अधिकार प्रधानमन्त्रीमा राख्न खोज्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको बताएको छ। सरकारले सेना परिचालनको अधिकार प्रधानमन्त्री राख्न खोजिरहेको बेला कांग्रेसले विज्ञप्तिमार्फत् आफ्नो धारणा सार्वजनिक गरेको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा २६७ को उपधारा ६ भन्छ ‘सुरक्षा परिषद्को सिफारिशमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुनेछ।’ संविधानको यो प्रष्ट व्यवस्थाको ठाडो उल्लंघन गरेर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी विधेयक प्रस्तावित गरिनु असंवैधानिक र आपत्तिजनक पनि छ।
राष्ट्रिय सुरक्षा विधेयकले गम्भिर प्रश्न उब्जाएको शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ले केही गम्भीर प्रश्न जन्माएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सुरक्षा परिषद्लाई संविधानले प्रत्याभूत गरेको अधिकार हनन् गरि परिषद्लाई प्रधानमन्त्रीको लाचार छायाँ बनाउने प्रस्ताव गलत र गम्भीर त छ नै शक्तिको अधिकतम् विन्यासको लोकतान्त्रिक मान्यताभन्दा विलकुलै विपरीत पनि छ।’
शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा उत्पन्न हुने सबैखाले समस्याको हल संविधानको परिधिभित्रबाट खोज्ने कर्तव्य राज्यको हो। तर, कुनै निश्चित विषयलाई कारणका रुपमा अघि सारेर राज्यले नै संविधानको प्रष्ट प्रावधान, मर्म र भावनाको बर्खिलाफ हुने गरी विधेयक प्रस्ताव गर्नु अत्यन्तै गम्भीर विषय हो।’
प्रधानमन्त्री अधिनायक बन्न खोजेकोमा कांग्रेसले आपत्ति जनाएको छ, ‘हाम्रो संविधानले प्रधानमन्त्रीलाई मुलुकको नेतृत्व बलियो ढंगले गर्न पर्याप्त अधिकार सुरक्षित गरेकै छ। तर, कहिले प्रधानमन्त्री कार्यालयमा कयौं संस्था र शक्ति थप गर्ने अनि कहिले सेना परिचालनको अधिकार प्रधानमन्त्रीमा निहित गराउने प्रस्ताव ल्याउने कर्मले अधिनायक बन्ने आकांक्षालाई थप पुष्टि गरेको मात्रै छ। ’
‘राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्रीका अलावा रक्षा, गृह, अर्थ र परराष्ट्र मन्त्री, नेपाल सरकारका मुख्य सचिव एवं प्रधान सेनापति सदस्य रहने व्यवस्था छ’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै राष्ट्रिय संकट उत्पन्न हुँदा परिषद्को बैठक बस्न नसक्ने परिस्थितिको कल्पना गर्न सकिन्नँ। त्यस्तो स्थितिको कल्पना विधेयकमा गरिनु र सुरक्षा परिषद्को बैठक नबसी सेना परिचालन गर्न मिल्ने व्यवस्था गरिनु नेपाली सेनाको नेतृत्वलाई सरिक नगराई सेना प्रयोगको गम्भीर मोडमा पुग्नु पनि हो र राष्ट्रिय सुरक्षाको दृष्टिले यो अत्यन्तै संवेदनशील विषय हो।’
विधेयकमा जबर्जस्ती गरिए प्रतिवाद गर्ने कांग्रेसले चेतावनी दिएको छ। उसले अगाडि भनेको छ, ‘प्रस्तुत विधेयक परिमार्जन नगरी मौजुदा स्थितिमै पारित गर्ने विषयमा नेपाली कांग्रेसको गम्भीर असहमति रहनेछ। लोकतान्त्रिक संविधानको दीर्घ जीवनलाई गम्भीर असर गर्ने दिशामा अघि नबढ्न नेपाली कांग्रेस सरकारलाई चेतावनी दिन चाहन्छ।’



लाेकपाटी न्यूज

