चितवन, ३ चैत । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आजको आवश्यकता प्राविधिक शिक्षा रहेको बताएकी छन् । स्कुल अफ हेल्थ साइन्स भरतपुर र भरतपुर महानगरपालिकाको समन्वयमा वडा नं ९ मा सञ्चालन हुन लागेको सीपमूलक मन्टेश्वरी तालिमको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुर महानगरलाई शैक्षिक हबको रुपमा विकास गरिने बताइन् ।
कार्यक्रममा उनले दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षाको आवश्यकता भएको हुँदा भरतपुर महानगरले त्यस्तो शिक्षालाई प्राथमिकता दिइरहेको बताएन् । कार्यक्रममा महानगर प्रमुख दाहालले भनिन्, ‘भरतपुर महानगरपालिका वडा नं २३ मा प्राविधिक शिक्षालय बनाउने प्रक्रिया अघि बढेको छ ।’
उनले भरतपुर महानगरपालिका शिक्षाको क्षेत्रमा पनि अघि बढिरहेको बताउँदै भरतपुर वडा नं १४ को शान्तिपुरमा १५ करोडको लगानीमा प्रहरी विद्यालय खोल्ने सम्झौता भइसकेको बताइन् । प्रहरी विद्यालय सञ्चालनबारे नेपाल प्रहरी र भरतपुर महानगरपालिकाबीच गत बुधबार सम्झौता भएको हो । यसै शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न तयारी भइरहको प्रमुख दाहालले बताइन् । उनले भनिन्, ‘एकपछि अर्को शिक्षा क्षेत्रका ठूला कार्यक्रमहरु भरतपुर महानगरमा भइरहेको छ ।’
उनले भरतपुर महानगर खुला विश्वविद्यालय सञ्चालन गर्ने योजनामा लागेको बताइन् । ‘खुला विश्वविद्यालयको लागि विज्ञ टोलीसहितको सरकारी संयन्त्रले जग्गा हेरेर जानुभएको छ’ महानगर प्रमुख दाहालले भनिन्, ‘खुला विश्वविद्यालय पनि भरतपुर महानगरमै सञ्चालन हुने मैले विश्वास लिएको छु ।’
महानगर प्रमूख दाहालले त्रिभुवन विश्वविद्यालयसँग मिलेर इन्जिनियरिङ क्याम्पस पनि भरतपुर महानगरमै सञ्चालन गर्नको लागि प्रक्रिया अघि बढाएको बताउनुभयो । उनले भनिन्, ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम पनि भइरहेको छ, रंगशालामात्र नभई एकेडेमीको रुपमा विकास गर्न महानगर लागिरहेको छ ।’
यसबाहेक सिटी हल, बहुउद्देश्यीय भवन, लिंकरोड, रिंगरोड, बसपार्क निर्माण, तथा यातायात पूर्वाधारका कामहरु भरतपुर महानगरले गरिरहेको प्रमुख दाहालले बताइन् । उनले वडा नं ९ बाट मन्टेश्वरी तालिम लिन आउनेहरुलाई बहुउपयोगी तालिमबाट सीप हासिल गरी स्वरोजगार बन्न आग्रह गरेकी थिइन् । उनले यस्ता किसिमका सीपमूलक तालिमहरु भरतपुर महानगरका २२ वटा वडामा सञ्चालन हुने बताइन् । उनकाअनुसार बेमौसमी खेतीदेखि व्यूटिपार्लरसम्मका तालिमहरु सञ्चालन हुनेछ ।
कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) का प्रदेश ३ का उपनिर्देशक राजेन्द्र चौधरीले सरकारले रोजगारमुखी तालिमहरु ल्याइरहेको हुनाले यसको सही सदुपयोग गर्न आग्रह गरे ।
स्कुल अफ हेल्थ साइन्स भरतपुरका प्रमुख रमण मेहताले तालिम निःशुल्क भनिएपनि सरकारको लगानी परेको हुनाले यसलाई सशुल्ककै रुपमा लिनुपर्ने बताए ।
कार्यक्रममा शिक्षाप्रेमी श्रीप्रसाद ढुंगाना, विशाल टोलका अध्यक्ष बाबुराम पोख्रेल, खेमराज पौडेल, विजयकुमार विश्वकर्मालगायतले महानगरले सञ्चालन गरेको तालिम बहुउपयोगी भएको बताएका थिए ।
कार्यक्रमका अध्यक्षता गरेका वडा नंं ९ का वडाध्यक्ष यमलाल कँडेलले २० जनालाई आएको तालिम वडावासी बढ्दो मागलाई ध्यान दिँदै ४० जनालाई उपलव्ध गराइएको बताए । मन्टेश्वरी तालिम ६५ दिनसम्म चल्नेछ । वडा नं ९ मा यसअघि पनि सिलाइकटाइ लगायतका तालिमहरु सञ्चालन भएको थियो ।



लाेकपाटी न्यूज

