विराटानगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुर्नगठन नहुने स्पष्ट पारेका छन् । विभिन्न सञ्चार माध्यममा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको समाचार आइरहेका बेला प्रधानमन्त्री आलीले भने अहिले त्यस्तो कुनै योजना नभएको बताएका हुन् ।
मोरङ र सुनसरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमास्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारे । उनले भने, ‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो ।’ पुनर्गठन हुँदैन ।’
यसैबीच प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द समूहलाई अनाधिकृत झुण्डको संज्ञा दिएका छन् । उनले निर्वाचन आयोगसहित कहीं कतै दर्ता नभएको समूहलाई सरकारले नचिन्ने उल्लेख गरे । प्रधानमन्त्रीले चन्द समूह राजनीतिक दल नभएको उल्लेख गर्दै सो समूहले गरेका ध्वंसात्मक गतिविधि माथि मात्र सरकारले प्रतिबन्ध लगाएको उल्लेख गरेका छन् ।
चन्द समूहलाई सरकारले लगाएको प्रतिवन्धबारे नेकपा भित्रैबाट विरोध भएपछि प्रधानमन्त्री ओलीले सो समूहबारे धारणा राख्दा बिचार पु¥याउन नेताहरुलाई आग्रह गरेका छन् । उनले भने, ‘नेपालका नेताजीहरूलाई आग्रह गर्न चाहन्छु, आफैंले जवाफ दिन नसक्ने कुराहरू नगर्नुहोस्, उनको पार्टी कहीं दर्ता भएको थियो र ? दर्ता छैन । नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो । बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने ? बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले संविधान विपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताए ।


लाेकपाटी न्यूज

