काठमाडौं, २ चैत । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक बस्ने भएको छ । बैठक आगामी चैत ४ र ५ गते जनकुपुरमा बस्नेछ । गठबन्धनका सहसंयोजक चन्दन सिंहले भने, ‘हाम्रो परिषद्को बैठकको तयारी हुँदैछ गठबन्धनले सरकारसँग गरेको सम्झौतालाई ऐतिहासिक सफलता र विजय भएको बताउँदै यसपछिको रणनीति तय गर्न बैठक डाकेको हो ।’
परिषद् बैठकमा आगामी रणनीति र सङ्गठनको संरचना तयार पार्ने विषयमा छलफल हुनेछ । सिंहले दिएको जानकारीअनुसार सरकारसँग भएको ११ बुँदे सम्झौता बमोजिम गठबन्धनले रणनीति बनाउनेछ । गत शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारको राजनीतिमा फर्किएका राउतले गठबन्धनको राष्ट्रिय परिषद् बैठक बोलाएका हुन् ।
राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएको छ । सरकारसँग सहमति गरेको दोस्रो दिनमै गृहनगर जनकपुर पुगेका राउतको गठबन्धनका नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए । सो क्रममा पुरानै शैलीमा ‘स्वतन्त्र मधेश’ लेखिएका ब्यानर तथा नारा गुञ्जिएको भन्दै राउतले सरकारलाई झुक्याएको र पुरानै अवस्थामा रहेको भनि टिप्पणी भएको थियो ।
गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सरकारको सहमतिलाई कसरी अथ्र्याउनेछ र भावी कार्यदिशा कस्तो बनाउनेछ भन्नेमा सबैको चासो रहेको छ ।
बिहीबार साँझ साढे ७ बजे सेन्ट्रल जेल काठमाडौँबाट सादा पोसाकका प्रहरी नियन्त्रणमा सरकारी गाडीमै बालुवाटार पुगेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सीके राउतले सोही राति सरकारसँग ११ बुँदे सहमति गरेका थिए । शुक्रबार सहमति सार्वजनिक कार्यक्रम भयो, त्यसपछि पनि उनी सुरक्षाकर्मीकै निगरानीमा थिए ।
शनिबार काठमाडौँमै बसेका डा.राउत आइतबार दिउँसो वीर अस्पतालमा स्वास्थ्य चेक जाँच गराई त्रिभुवन विमानस्थल हुँदै जनकपुर फर्केका थिए । जनकपुरमा उनको सुरक्षा दस्तासहित समर्थकहरूले स्वागत गरेका थिए । उनको स्वागतमा स्वतन्त्र मधेश लेखिएको झन्डा र पम्प्लेट भेटिएको विषय अहिले चर्चामा छ ।
उनको फेसबुक र ट्वीटर अकाउण्टबाट जनमतसंग्रहका लागि सरकार सहमत भएको भन्ने भनाइ पनि चर्चामै छ । सहमतिका विषयमा विभिन्न कोणबाट व्याख्या भइरहेका बेला सिकेका आगामी रणनीतिप्रति नागरिकको चासो पनि ह्वात्तै बढेको छ। प्राप्त जानकारी अनुसार गठबन्धनको परिषद् दुई तहको साङ्गठनिक संरचना बनाउने प्रस्ताव जानेछ ।
अहिलेको स्वतन्त्र मधेश परिषद् कायम राखेर अर्को राजनीतिक दल गठनको प्रस्ताव हुनेछ । उक्त दल सम्पूर्ण राजनीतिक कार्यक्रममा सक्रिय हुनेछ। स्थानीय तहको निर्वाचनदेखि सङ्घीय संसद्को निर्वाचनसम्म सहभागी हुन सक्छ भने वडातहसम्म कार्यालय स्थापना र सङ्गठन विस्तार गर्नेछ ।
सरकारसँग ११ बुँदे सहमति गर्नुअघि पनि गठबन्धनका संयोजक डा।राउतले राजपा र फोरमसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई आफ्नो अभियानमा सहभागी हुन पत्राचार गर्दै आएका थिए । तर, त्यस बेला खासै प्रतिक्रिया आउने गरेको थिएन। अहिले राजपा र फोरमका नेताहरू पनि डा।राउतले बनाउने पार्टीप्रति सकारात्मक रहेको सिंहले बताए ।
उनकाअनुसार ती पार्टीका युवा नेताहरूसँग अनौपचारिक छलफल सुरु भएको छ। नेपाल सरकारले विप्लवभन्दा हामीलाई ठुलो समस्या मानेको थियो। राजनीतिक सहमति नगरेको भए प्रतिबन्ध लाग्न सक्ने सिंहको भनाइ छ । ‘हामीले ११ बुँदे सहमति नगरेको भए हाम्रो सङ्गठन पनि घोषित रूपमा प्रतिबन्धित हुने थियो’ सिंहले भने ।
अहिलेको अवस्थामा आफूहरू खुलेर लोकतान्त्रिक शक्तिका रूपमा पार्टी गठन गर्न सक्ने र आफ्नो विचार राख्न सक्ने अवस्थामा पुगेको दाबी सिंहले गरे । माओवादीले गरेको १२ बुँदे सम्झौता जस्तै यो सम्झौता महत्त्वपूर्ण रहेको दाबी गर्दै सिंहले भने, यसले राजनीतिक अवतरण गर्नुको साथै ठूलो क्षतिबाट सबैलाई जोगाएको छ ।



लाेकपाटी न्यूज

