कालिकोट, २ चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको शक्तिशाली लालकिल्लाको रुपमा कालिकोट देखिएको छ । देशका ७७ वटै जिल्लामध्येकै विशेष शक्ति केन्द्रको रुपमा पछिल्लो समय कालिकोटलाई लिइएको हो ।
विप्लवपछिको दोस्रो नेतृत्व समालेका नेकपाका प्रवक्ता खड्कबहादुर विक (प्रकाण्ड) लगायतका सयौं नेता कालिकोटका छन् । कालिकोटबाट पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, भेरी कर्णाली ब्युरो गरी १३ जना नेताले प्रतिनिधित्व गरिरहेका छन् ।
विप्लवको अखडा र प्रभावित जिल्लाको रुपमा कालिकोटलाई सुरक्षा निकायले पहिलो सूचीमा राखेको जनाइएको छ । विप्लव नेतृत्वको नेकपाले देशकै लालकिल्ला कालिकोट भएको दाबी गरेको छ ।
हाल प्रकाण्ड पार्टीको संगठन विभाग प्रमुखको रूपमा पनि क्रियाशील छन् । ललितपुर, भक्तपुरलगायत ४५ वटा जिल्लामा पार्टीका अध्यक्ष कालिकोटकै रहेको प्रवक्ता प्रकाण्डले जानकारी दिएका छन् । कालिकोटकी पुर्व सभासाद धिरिन्द्रा उपाध्याय काठमाडौं इञ्चार्ज रहेकी छन् ।
पुर्व राज्यमन्त्री रहेका कालिकोटकै नवीन विक ललितपुर जिल्लाको इन्चार्ज बनेका छन् । भेरी कर्णाली व्युरोका सबै जिल्ला इञ्चार्ज कालिकोटकै छन् । कालिकोटबाट मात्र १३ जना केन्द्रीय सदस्य पोलिटब्युरो सदस्य छन् । जसमा अधिकांशलाई जिल्ला इन्चार्ज र प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । कालिकोटकै खम्ब बुढा भेरी कर्णाली ब्युरोका इन्चार्ज हुन् । कालिकोटका लोकजंग शाही, कर्ण भण्डारी, कालीबहादुर शाही, रणदीप ऐडी, विशाखर जैसी, शितल बिष्ट, अनिपाल बिक, पदम बिक र कञ्चन शाहीले ठुलो नेतृत्व समाल्दै आएका छन् ।
कालिकोटबाटै युवा संगठन नेपालको केन्द्रीय उपाध्यक्ष दिनेश विक रहेका छन् । अखिल नेपाल महिला क्रान्तिकारी संघको केन्द्रीय महासचिव धिरिन्द्रा उपाध्याय हुन् । त्यस्तै अखिल क्रान्तिकारी विद्यार्थीको केन्द्रीय कोषाध्यक्षमा नरेन्द्र विक रहेका छन् ।
सात वटा भातृ संगठनका कर्णाली व्युरो संयोजक समेत कालिकोटकै रहेको विप्लव नेतृत्व नेकपा कालिकोटका सेक्रेटरी मुनिलाल ऐडी (रणदिप) ले बताए । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृह जिल्ला भएकाले सुरक्षाको दृष्टिले कालिकोटलाई अति ‘संवेदनशील’ क्षेत्र मानिएको छ ।



लाेकपाटी न्यूज

