‘तालिममा सिकेको सीप कार्यक्षेत्रमा देखाउनुस्’

Armed police force sailendra
लाेकपाटी न्यूज

काठमाडौं। यूएन डिपीओ र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त आयोजनामा सञ्चालित ‘यूएन इण्डिभिजुअल पुलिस अफिसर्ष ट्रेन द ट्रेनर्स कोर्ष’ समाप्त भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत्र १ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच उक्त तालिमको समापन गरे। सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र यूएन डिपीओका ड्याग रोजर डाह्लेनले तालिमको समापन समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई संयुक्त रुपमा प्रमाणपत्र प्रदान गरे।

त्यस अवसरमा महानिरीक्षक खनालले विश्व शान्तिका लागि सयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर द्वण्द्वग्रस्त मुलुकहरुमा शान्ति सुरक्षा बहाली गर्ने कार्यमा नेपालका सुरक्षाकर्मीहरुले महत्वपूर्ण योगदान पुर्‍याइरहेको चर्चा गर्दै यस्ता प्रशिक्षणबाट प्राप्त ज्ञानले आगामी दिनहरुमा संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर काम गर्नुपर्दा सहजता प्राप्त हुनुका साथै सुरक्षाकर्मीहरुको व्यावसायिक दक्षतामा समेत अभिवृद्धि हुने बताए।

उनले तालिमबाट प्राप्त ज्ञान तथा अनुभव कार्यक्षेत्रमा लागू गर्नुका साथै आगामी दिनमा संयुक्त राष्ट्रसंघीय मिसनहरुमा सहभागिता जनाउने सुरक्षाकर्मीहरुलाई प्रशिक्षण प्रदान गर्न प्रशिक्षार्थी अधिकृतहरु सक्षम रहने विश्वास व्यक्त गरे।

खनालले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा गएपछि आफू मातहतका अधिकृत तथा जवानहरुलाई समेत सिकाउँदै प्रभावकारी कार्यसम्पादनमा कृयाशील रहनुपर्ने कुरा समेत उल्लेख गरे। उनले यस्ता तालिम सञ्चालन गर्न सहयोग पुर्‍याएकोमा संयुक्त राष्ट्रसंघप्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा गरे।

प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले संयुक्त राष्ट्रसंघीय मिशनमा नेपालले महत्वपूर्ण योगदान पुर्‍याइरहेको चर्चा गर्दै यस्ता तालिमले उत्कृष्ट प्रशिक्षक उत्पादनमा योगदान पु¥याएको उल्लेख गरे। उनले प्रशिक्षार्थीहरुले तालिमबाट संयुक्त राष्ट्रसंघको म्याण्डेट लगायत विविध पक्षहरुको बारेमा महत्वपूर्ण ज्ञान हासिल गर्न सफल भएको विश्वास व्यक्त गरे।

यूएन डिपीओका ड्याग रोजर डाह्लेनले यस तालिमबाट शान्ति स्थापनार्थ विभिन्न मिसनमा खटिने सुरक्षाकर्मीलाई मिसनमा परिचालनपूर्व प्रि–डिप्लोयमेन्ट तालीम दिनसक्ने योग्य प्रशिक्षक उत्पादन गर्न तालीम सफल रहेको विश्वास व्यक्त गरे।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित दुई हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका १८ जना अधिकृत तथा नेपाल प्रहरीका ६ जना अधिकृत गरी कुल २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्