एक दशकपछि प्रेम–पत्र

IMG_1504
लाेकपाटी न्यूज

प्रिया नीरा,

कहाँबाट शुरु गरुँ, के शब्दबाट शुरु र के भनेर सम्बोधन गरुँ तिमीलाई प्रिया । यहाँसम्मकी, सञ्चै छौ ? तिमी भनेर सोध्न सक्ने त्यो शब्द पनि छैन मसँग ।
कुन शब्दकोशबाट उधारो लिउँ ती शब्दहरू, तिम्रा ती प्रश्नको प्रत्युत्तरका लागि । जहिल्यै म तिम्रो नजरमा धोकेबाज र दोषी ठहरिरहें । जानेर भनौं या विवशताको जाँतोमा पिसिनु परेर । त्यो मभन्दा बढी कसलाई थाहा होला र प्रिया ? र तिमीलाई कसरी व्यक्त गरुँ ती पलहरू ।

आज एक दशकपछि, आफूलाई बनाएको कठोर एक पत्थर मुटुलाई अतीतको यादको कोइलामा पगाली, तिमीलाई यो पत्र लेखिरहँदाको क्षण प्रत्येक अक्षरहरूसँगै भिजेका मेरा यी परेलीहरू तिमीलाई सम्झिरहेछ प्रिया । तिमीले स्पर्श गरेका यी हातहरू, तिमीले चुम्बन गरेका यी निर्दोश अधरहरू र यी विवश मेरा नयनहरू आज तिमीलाई सम्झिरहेछ नीरा ।

तिमी मसँग छुट्टिनु पर्दाको क्षण जति तिमीलाई कठिन थ्यो, प्रिया योभन्दा पनि बढी कठिन थ्यो मलाई। तिम्रो चुल्ठो समाती तिमीलाई, स्यालले कुखुरा घिसारेझैं मेरै नयनका सामु घिसारीरहँदा, गहुँखेतमा ठिङ्ग उभ्याइएको बुख्याचाझैं म फगत ठिङ्ग उभिइरहें। म केवल उभिइरहें, उभिइरहें। र, पनि मैले आफ्ना विवशताको हतकडी चुडाउन सकिनँ। बालुवाले पानी सोंचेझैं परेलीहरूबाट तप्किन लागेको तडपका आँशुहरू आफ्नै लाचारी नयनहरूमैं फिर्ता लिइरहें।

मसँग कुनै हिसाब छैन प्रिया। आज तिमीलाई पत्र कोरिरहँदाको पल मेरा परेलीहरूले रुँदै मैंसँग रुएर बिन्ति गरेको प्रिय । ‘आज त रुन देऊ राज, तिम्रा अतीतका पीडाको ती घाइते अक्षरहरू म पढ्न सक्तिनँ। त्यसैले, मैले झारेका आँशुका प्रत्येक थोपा–थोपाले ती घाइते अक्षरहरूको आलो रगत पखाल्न चाहन्छु, कृपया राज आज न रोक मलाई रुनबाट’ भन्दै बिन्ती गरेका। मसँग कुनै हिसाब छैन, प्रिया। मैले लेखेका प्रत्येक अतीतका अक्षरहरू तप्पतप्प गरी पोखिरहेका आँशुहरूले इरेजरले झैं मेटाउँदै थिए।

तिमी त ‘आँ गर्दा अलङ्कार बुझ्ने मान्छेु’ फेरि कसरी चुक्यौ त आज प्रिया मेरो विवशताको दस्तावेज पढ्नलाई ? एकफेर आफैंलाई मासु बनाएर अचानोमा राखी खुकुरी चलाऊ त प्रिया, मासुलाई भन्दा अचानोलाई दुख्छ। अनि तिमी आफै बुझ्नेछौ। अनि तिम्रो प्रत्येक प्रश्नको उत्तर प्रश्नको शैलभित्र थिचिएर बसेको प्रत्येक बालुवा बालुवामा पाउनेछौ मेरा उत्तरहरू प्रिया।

मलाई थाहा छ, तिमी अहिले घृणाको शैल बनेर उभिएकी छौ मेरो अघि। जसरी म त्यो दिन केही विवशताले गर्दा मायाको कठिन सागरमा मजबुरीको प्वाल परेको डुङ्गामा परेलीका आँशु प्रेमको अञ्जुलीमा थाप्दै आफ्नो प्यास आफ्नै अतीतका आँसुहरू पिएर बुझाउँथें।

कसरी भुल्न सक्छु म ती पलहरू, प्रिया ? यो मेरा लागि एउटा प्रश्नको विषय बनेको छ। जिन्दगी नै एक खोलाको किनारामा एक प्रश्नको शैलझैं बनेर चुलिएपछि अनि असारमा बग्ने खोलाको उन्मत्त छालहरूले मेरो कमजोर उत्तरहरूको किनारामा बारबार लात्तले हानिरहँदा म तिम्रो प्रश्नको प्रत्येक उत्तरका लागि खडा भएर अडिरहन सकिनँ प्रिया। मलाई माफ गरिदेऊ प्रिया, माफ।

न तिम्रो दोष थियो प्रिया, न मेरो नै दोष । तिमी पनि बिछट्टै आफैलाई बिर्सिएर मलाई प्रेम गर्थ्यौ। केवल दोष थियो त हाम्रो उँचनिचको, जात र भातको, अनि गरीब र धनीको, कुल र घरानाको।

हो, यही मान्छेले बनाएको संस्कारको अजिङ्गरले निल्यो तिम्रो र मेरो प्रेमलाई नीरा। तिम्रो र मेरो मात्रै कहाँ हो र प्रिया ? सदियौंदेखि चल्दै आएको धर्म शास्त्रानुसार पनि पार्वती ब्राह्मण कुलकी राजाको छोरी अनि महादेव जट्टाधारी क्षेत्रीय वंशको। आफ्नै पिताबाट आफ्नै पतिको अपमान सहन नसकेर होम गरिरहेको यज्ञमा हाम्फालेर मरेको कथा अझै श्री स्वस्थानी ब्रत कथामा पढिरहेका छन्। तिम्रो र मेरो प्रेमको बाँधिएको डोरी छिनाल्ने हाम्रा शत्रुका समाजहरू।

के हेरिरहेका छन् आज पनि यी समाज ? फेरि किन जलाउँदैन अझै यस्ता कू–संस्कृतिका कागजका धमिरा लागेका पात्रहरू ? यहाँ प्रेमभन्दा प्रिया, कू–संस्कृति र कुलघरानाको श्रीपेचलाई सर्वोपरि मान्छ नीरा। अहम् र बकुम्फुसे संस्कृतिका जाँतोमा पिसिएका थियौँ तिमी र म।

आज मैले प्रिया तिमीलाई सबै सत्य कुरा बताउने हो भने तिम्रो पाउ तल धर्ती फाट्ने छ। अहिलेलाई उत्ति, उही तिम्रो प्रेमी।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्