प्रविधिको प्रयोगबाट सडक दुर्घटना घटाउँछौं : महानिरीक्षक खनाल

Sarbendra khanal
लाेकपाटी न्यूज

झापा, ३० फागुन। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रविधिको उपलब्धताको कमिको कारण प्रहरी सडकमै उपस्थित भइरहनुपर्ने अवस्था अन्त्य गर्न प्रविधि र उपकरणको प्रयोग गरी सडकमा प्रहरीको उपस्थितिलाई न्यूनिकरण गर्ने अभियानमा लाग्ने बताएका छन्।

महानिरीक्षक खनालले झापाको बिर्तामोडमा बिहीबार आयोजित एक समारोहबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालय भवन शिलान्यास गर्दै उक्त कुरा बताएका हुन्। उनले प्रतिकात्मक रुपमा नम्बर १ प्रदेशका ५ जना चालक र सहचालकलाई चालक ड्रेसकोड लगाई नम्बर १ प्रदेशको १५ दिने सडक दुर्घटना न्यूनिकरण अभियानको शुभारम्भ समेत गरे।

उक्त अवसरमा साहारा नेपाल नामक संस्थाको अगुवाईमा बिर्तामोड नगरपालिकाभित्र रहेका विभिन्न संघसंस्थाबाट प्राप्त १० वटा मोटरसाइकल, १० वटा ब्रेथलाईजर र १० वटा सवारी साधन ह्विललक ट्राफिक प्रहरीलाई हस्तान्तरण गरियो।

कार्यक्रममा खनालले प्रहरीको सडकमा उपस्थिति सम्बन्धी वस्तुस्थिति प्रस्तुत गर्दै विकसित मुलुकमा प्रविधिको प्रयोगले सडकमा प्रहरीको उपस्थितिलाई विस्थापन गरेको र हाम्रोजस्तो मुलुकमा प्रविधिको उपलब्धताको कमिको कारण प्रहरी सडकमै उपस्थित भइरहनुपर्ने अवस्था भएको बताए। प्रविधिको प्रयोग सँगसँगै सडकमा उपस्थित हुने प्रहरी क्रमश घट्दै गई सडक प्रयोगकर्ता र प्रहरीबीचको द्वन्द्व न्यूनिकरण हुने विश्वास उनले व्यक्त गरे।

समुदाय सुरक्षित राख्ने प्रहरीको अभियान रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसका लागि आम नागरिकको सहयोग र प्रतिबद्धता आवश्यक रहेको बताए। ट्राफिक प्रहरीलाई साधन स्रोत सम्पन्न बनाई दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने गरी प्राप्त यस सहयोग अन्य जिल्लाका लागि समेत अनुकरणीय हुने उनले बताए।

नेपाल प्रहरी शान्ति सुरक्षाका सवालमा समाजका हरेक समस्याहरुलाई स्थानीय तह, विभिन्न सरकारी तथा गैरसरकारी निकाय एवं संघसंस्थाहरुको सहकार्यमा संस्थागत रुपमा अघि बढ्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको उनले चर्चा गरे। महिला हिंसा, सडक दुर्घटना न्यूनिकरण, लागूऔषध लगायत संगठनका विविध प्राथमिकताका विषयमा नेपाल प्रहरीले सूचना, सचेतना तथा साझेदारिताका कार्यक्रम राखेको उनले चर्चा गरे।

उक्त अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले धन्यवाद व्यक्त गर्दै ट्राफिक प्रहरीलाई प्राप्त सहयोगले आगामी दिनमा ट्राफिक प्रहरीलाई काम गर्ने वातावरण मिल्ने र काममा थप प्रभावकारिता हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा सडक दुर्घटना न्यूनिकरणमा उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक राजेश राई तथा सडक दुर्घटना न्यूनिकरण महाअभियानमा सहयोग गर्ने बैंक, वित्तिय संस्था र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो।

औपचारिक उद्घाटनपछि खनाल र झापा जिल्लास्थित पूर्व प्रहरी कर्मचारीहरुबीच बिहीबार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। खनालले पूर्व प्रहरी कर्मचारीहरुका समस्या तथा हितका सन्दर्भ र उनीहरुले प्रस्तुत गरेका विभिन्न विषयमा आफू गम्भीर रहेको बताए।

यसको समाधानका लागि संगठनले उचित निर्णय र पहलकदमी लिने उनले उल्लेख गरे। नेपाल प्रहरीले सुरु गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याई अपराध न्यूनिकरण र अपराधीलाई कानूनी दायरामा ल्याउने कार्यमा सहयोग गर्न पूर्वप्रहरी कर्मचारीहरुलाई उनले अनुरोध गरे।

भेटघाटका अवसरमा झापा जिल्लास्थित पूर्व प्रहरी कर्मचारीहरुले आफ्ना समस्या राख्दै प्रहरी संगठन र राष्ट्रका लागि आफूहरुले दिन सक्ने सहयोग प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको जानकारी गराएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्