काठमाडौं, ३० फागुन। गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’सँग प्रवासी एकता मञ्च, अस्ट्रियाले अन्तरक्रिया गरेको छ।
मंगलबार मन्त्रीपरिषदको बैठकबाट विप्लव समूहलाई प्रतिवन्ध लगाएपछि गृहमन्त्री थापा अस्ट्रिया प्रस्थान गरेका थिए। गृहमन्त्री थापासँग गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजीत राई पनि अस्ट्रिया पुगेका छन्। मञ्चले समसामयिक विषयमा गृहमन्त्रीसँग अन्तरक्रिया गरेको हो।
गैरआवासीय नेपाली संघ, अस्ट्रियाका पूर्वअध्यक्ष एवं प्रवासी एकता मञ्च, अस्ट्रियाका प्रस्तावित अध्यक्ष धर्मराज खतिवडाले प्रवासीहरुको अवस्था, समस्या, समसामयिक राजनीतिबारे प्रवासीका जिज्ञासा लगायतका विषयमा गृहमन्त्रीलाई अवगत गराएका थिए।
प्रवासीहरुको अन्तरक्रियालाई गृहमन्त्री थापाले सम्बोधन गरेका थिए। सम्बोधनमा थापाले भने, ‘नेपालको राजनीतिक क्रान्तिमा प्रवासी नेपालीहरुको महत्वपूर्ण योगदान छ। हिजोको जनयुद्ध र जनआन्दोलनमा पनि तपाईहरुको अमूल्य साथ छ। पार्टी सधैं त्यसको सम्मान गर्दछ।’
‘प्रवासमा पनि वामपन्थी राजनीतिप्रति आकर्षण देखिन्छ’ गृहमन्त्री थापाले भने, ‘तपाईहरुको नयाँ नेपालको सपना मर्न नदिन हामी लागिरहेका छौं। हामी छिट्टै पार्टी एकता टुङ्गाएर अघि बढ्छौं। तपाईहरुले पनि पार्टी केन्द्रको स्प्रीड पक्रिनुहोला।’



लाेकपाटी न्यूज

