लोकतन्त्रमा दलमाथि प्रतिवन्ध लगाउन मिल्दैन : देवेन्द्र पौडेल

Devendra Poudel
लाेकपाटी न्यूज

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स् क्लवमा बोल्दै उनले भने, ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म पार्टीको बैठकमा राख्छु । तर पनि म यतिमात्रै भन्न चाहन्छु कि यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ ।’

उनले कुनै पनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्षले गर्न नहुने बताए। पौडेलले अहिलेको सिजन र अवस्था भनेको शान्तिपूर्ण तवरले खुल्ला प्रतिष्पर्धामा आउनका निम्ति संविधानप्रदत्त अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने भएको बताए ।

उनले थपे, ‘सरकारले अधिकतमभन्दा अधिकतम लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनुपर्छ, यतिबेला सरकारको भूमिका हुनुपर्दथ्यो । त्यसले मात्रै विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाउन सक्छौं ।’

नेता पौडेलले विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा राखे । उनले भने, ‘जनतामा जागरण ल्याउनुपर्छ भनेपनि संविधानअनुसार नै गर्नुपर्छ । त्योभन्दा अरु तरिका अपनाइयो भने त्यसले स्वयं उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन।’

उनले परिस्थिति ठिक–ठिक ढंगले बुझ्नुपर्ने धारणा राखे । पौडेलले थपे, ‘यदि ठिक ढंगले परिस्थिति बुझन सकिएन भने यसले आफैमाथि बज्रपात गर्न सक्छ। त्यसकारण उहाँलाई के भन्न चाहन्छौं भने आफ्ना कुराहरु खुल्ला प्रतिष्पर्धाको आधारमा र लोकतान्त्रिक विधिका आधारमा कुराहरुलाइ सशक्त रुपमा अगाडि बढाउनका निम्ति विशेष अनुरोध गर्न चाहन्छु ।’

राज्यले समस्याको समाधान गर्न वार्ता, सम्वाद तथा सहमतिकै प्रक्रियाद्धारा गर्नुपर्ने उनको भनाई छ । पौडेलले भने, ‘त्यसका लागि सरकारले अन्तिम र अधिकतम प्रयत्न गर्नुपर्छ । त्यो प्रयत्न गर्दागर्दै पनि राज्यले तोकेको विधि र प्रणालीविपरित एकपछि अर्को वार्ता तथा सहमति तोड्दै जाने काम भयो भने राज्यले त्यतिवेला आफ्नो स्टेप लिन सक्छ ।’

उनले राज्यले नियन्त्रण गर्नै नसक्ने घट्नाहरु अहिले नघटेको पनि जिकिर गरे । ‘केही प्रकारका छिटपुट घटनाहरु घटेका छन्, यसबारेमा छानबिन गरेर अन्तिम अवसर दिँदा नै राज्यको लागि राम्रो हुन्छ ।’ उनले पटक–पटक अहिलेको सिजन र अवस्था भनेको नै शान्तिपूर्ण प्रतिष्पर्धा भएको सुनाए ।

नेता पौडेलले थपे, ‘हामीहरु अहिले पनि हिजोका घाउहरु सुल्झाउने प्रयास गरिरहेका छौं । कतिपय पक्षले नेपाललाई द्वन्द्वको क्रिडास्थल बनाउन खोजिरहेका छन् । हामीले त्यसो गर्न दिनुहुँदैन।’

अझै पनि प्रतिबन्ध लगायो भन्दैमा सरकारले वार्ताको ढोका बन्द नगरेको उनले जिकिर गरे । उनले भने, ‘विप्लव समूहलाई म विद्रोह समूह त भन्दिन्, विप्लव समूहले संयमतापूर्वक आफ्ना कुराहरु राख्नुपर्छ । यसको लागि बढि पहलकमदी राज्यले लिनुपर्छ । राज्यले समस्या सुल्झाउनेभन्दा धकेल्नेतिर जानुहुँदैन।’

पौडेलले थपे, ‘वार्ता, सहमति र सम्वादको प्रक्रियाबाट उहाँहरु टेबुलमा आउनुपर्छ । एकपटक अवसर दिनुपर्छ । हतारमा निर्णय गर्नुभन्दा समस्यालाई गाँठो फुकाउनेगरि निर्णय गर्नुपर्छ ।’ उनले भने, ‘जेसुकै भएपनि शान्ति र समृद्धिको बाटोमा बढ्नुछ । आवश्यक पर्यो भने संविधान संशोधन गर्न पनि सकिन्छ ।’

त्यस्तै उनले वर्तमान सरकारले जनताको चाहनाअनुसार प्रभावकारी काम गर्न नसकेको गुनासो पोखे । उनले भने, ‘सरकारको कामलाई प्रभावकारी बनाउन आवश्यक छ । हामी यो विषयमा गम्भिर छौं । जनताको गुनासो आउनु स्वभाविक हो ।’

फरक प्रसंगमा उनले सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिलाई सकारात्मक रुपमा लिनुपर्ने स्पष्ट पारे । उनले थपे, ‘सिके राउतको विगतको गतिविधिलाई समिक्षा गर्दै नेपालको पछिल्लो शान्ति प्रक्रियासँग मेल खाने नाममा प्रदत्त अधिकारहरु खुल्ला राजनीति र प्रष्पिर्धामा उहाँलाई सहज वातावरण बनाउनेसहित ११ बुँदे सहमतिको पटाक्षेप भएको छ ।’

यदि सरकारसँग भएको सहमतिअनूरुप नै गतिविधिहरु भए भने ठिकै हुने उनको टिप्पणी छ । पौडेलले थपे, ‘यदि सहमतिविपरित गतिविधिहरु भए भने सहमतिबारे पूर्नविचार गर्न बाध्य हुनुपर्छ । यदि सहमितअनुरुप नै अघि बढियो भने यो एक प्रकारले राजनीतिसँग अन्तरनिहित छ । त्यसकारणले त्यो सही छ ।’

गतिविधि अब कसरी अघि बढ्छन् ? भन्ने कुरा हेर्न बाँकी रहेको उनको भनाई छ । उनले थपे, ‘अबका दिनले त्यो देखाउँछ । वार्ता, सहमति र सम्वादमार्फत र संविधानअनुसार सहमितमा ल्याउनु आफैमा सही कुरा हो । त्यसकारण सरकारको तर्फबाट गरिएको उक्त सहमतिलाई हतार भएपनि एउटा सकारात्मक संकेतको रुपमा लिन्छु । ’

सरकार र राउतबीचको सहमति र विप्लवमाथि प्रतिबन्ध लगाउने यी दुवै प्रकरणमा सरकारले यति धेरै महत्व दिनुपर्ने स्थिति आफूले नदेखेको पनि पौडेलले सुनाए । उनले भने, ‘यतिबेला सरकारले आफना कामहरु, विकास निर्माणका कामहरु, संविधान कार्यान्वयन गर्नुपर्ने कामहरु र शान्ति प्रक्रियासँग सम्बन्धित रहेका बाँकी कामहरु दृढतापूर्वक गर्नसक्ने बलियो हैसियतमा सरकार छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्