मधेशमा यसरी हुँदैछ पूर्वराजाकाे स्वागत

राजा01
लाेकपाटी न्यूज

जनकपुरधाम, २९ फागुन । काठमाडौंमा सिके राउतले व्यापक चर्चा पाइरहेका बेला मधेसमा भने त्यसको ठिक विपरित देखिएको छ । सरकारसँग ११ बुँदे सम्झौता गरेलगत्तै मधेस झरेका सिके राउत र उनका समर्थकका गतिविधिहरु एकाएक सेलाएका छन् । बरु पूर्वराजा ज्ञानेन्द्रका समर्थकको दौडधूप मधेसमा सुरु भएको छ ।

सिके राउतसँग सरकारले गरेको सम्झौताको पक्ष–विपक्षका समाचार तथा विचारले काठमाडौंमा प्राथमिकता पाइरहेका बेला जनकपुरका स्थानीय पत्रपत्रिकामा भने सिके राउतको खासै चर्चा छैन ।

काठमाडौं र अन्यत्रका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच जसरी सिके राउतले फेरि पनि पृथकतावादी अभियान नछाडेको व्यहोरा झल्किने फोटो र भिडियोहरु भाइरल बनिरहेका भए पनि मधेसमा त्यस्ता कुनै गतिविधि नदेखिएको प्रहरीका उच्च अधिकारीको दाबी छ ।

सिके राउतको मूलप्रवाहीकरण कि शक्ति सञ्चयको रणनीति भन्ने बहस काठमाडौंमा चलिरहेका बेला उनको आधार क्षेत्रमा केही चहलपहल नहुनु दुःखको कुरा पनि हो ।

हिजो चर्का पृथकतावादी कुरा गर्दा केही युवाको साथ पाएका सिके राउतलाई अहिले उनकै समर्थकहरुको चित्त बुझाउन सकस हुन थालेको छ । काठमाडौंमा सिके राउतसँगको सम्झौतापछि प्रधानमन्त्री र गृहमन्त्रीले स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ । यता मधेसमा चाहिँ सिके राउतको त्यस्तै अवस्था देखिएको छ । अलग मधेसको एजेण्डा छाडेको भनेर जाँदा आफ्ना उग्र समर्थकबाटै आक्रमणमा परिने र ११ बुँदे सम्झौता विपरित अभिव्यक्ति दिँदा प्रशासनिक कारवाही भोग्नुपर्ने डरका बीचमा सिके राउत तनावमा रहेको विश्लेषण जनकपुरमा गरिँदैछ ।

गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेर पृथकतावादी अभियान छाडेका सिके राउतले जनमत संग्रहमा सरकार सहमत भएको प्रचार गरेपछि काठमाडौंको मनोविज्ञान भड्किएको थियो ।

यद्यपि राउतले त्यसबारे अहिलेसम्म औपचारिक रुपमा नबोलेको जनकपुरस्थित उनका सहयोगीहरुले दाबी गरेका छन् । सरकारसँगको सहमतिलाई कसरी बाहिर लैजाने भनेर आन्तरिक छलफल भइरहेको उनीहरुको भनाइ छ ।

जनकपुरको बाल्वाटोलस्थित आफ्नै निवासमा बसिरहेका सिके राउत कुनै सार्वजनिक कार्यक्रम वा भेटघाटमा समेत देखिएका छैनन् । लामो समय परिवारबाट टाढा भएकाले उनी पारिवारिक भेटघाटमा व्यस्त रहेको उनका सहयोगीले बताएका छन् ।

सीके राउत समूहका एक नेताले भने, ‘हामीले मधेश अलग राष्ट्र भन्ने कुरा छाडेको सत्य हो । मधेशको सन्दर्भमा अब कसरी जाने भन्ने बारेमा राउतजीले योजना बनाउँदै हुनुहुन्छ । विदेशमा पनि उहाँलाई साथ दिने धेरै विद्वान मित्रहरु रहेकाले उनीहरुको पनि राय सल्लाह लिँदै हुनुहुन्छ । उहाँको फेसबुक र ट्वीटर पनि अहिलेसम्म अन्य साथीले नै अपडेट गरिरहेका छन् ।’

राउत समूहका प्रवक्ता चन्दन सिंहले राज्यसँग जे लिखित सम्झौता भएको छ, त्योबाहेक अन्य कुरा अफवाह मात्रै चलिरहेको प्रतिक्रिया दिए । उनले कार्यकर्ता र समर्थकलाई के भनेर आश्वस्त पार्ने भन्ने बारेमा आन्तरिक छलफल गरिरहेको बताउँदै बाहिरी हल्लाको पछि नलाग्न आग्रह गरे ।

सीके राउत काठमाडौंबाट जनकपुर गएदेखि बाहिरिएका छैनन् । उनका समर्थकहरुमाथि प्रदेश सरकारले पनि कडा निगरानी गरिरहेको छ । सिके राउतलाई संघीय सरकारले हैसियतभन्दा बढी महत्व दिएकोमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असन्तुष्टि व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राउतकाअनुसार सिके राउतलाई पृथकतावादी धारबाट मूलप्रवाहमा ल्याउने कार्य सही भए पनि उनी प्रधानमन्त्रीकै तहबाट सम्बोधन गरिनुपर्ने जनाधार भएका व्यक्ति होइनन् ।

सिके राउतले भनेजस्तो मधेसमा जनमत संग्रह हुन नसक्ने मुख्यमन्त्रीको विश्लेषण छ । लालबाबु भन्छन्, ‘जहाँसम्म जनमत संंग्रह वा अरु कुरा छ, न त त्यो सम्भव छ, न सिकेको जनमत र संगठन नै छ । उग्र कुरा गरेर आएका व्यक्तिलाई सही धरातलमा उभिन केही समय लाग्छ, त्यति हो ।’

सीके राउतलाई काठमाडौंका मिडिया र सामाजिक सञ्जालले मात्रै ठूलो शक्ति बनाएको उनकै जिल्लाबासी नेकपा प्रदेश २ का इञ्चार्ज तथा प्रदेश २ का विपक्षी दलका नेता सत्यनारायण मण्डलको बुझाइ छ ।

सरकारसँगको ११ बूँदे सहमतिपछि अलिअलि भएका सिकेका समर्थकहरु पनि थान्को लागिसकेको मण्डलले दाबी गरे । जनमतसंग्रहको हल्ला मधेशमा नरहेको उनले बताए ।

हवाइमार्ग वा स्थलमार्गबाट जनकपुर प्रवेश गर्नासाथ सिके राउत होइन पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहका बारेमा चाहिँ चर्चा चलिरहेको छ । ढल्केबर र महेन्द्रनगरबाट जनकपुर प्रवेश गर्ने ठाउँ–ठाउँमा पूर्वराजाको जयजयकार गर्दै ब्यानर तथा होर्डिङबोर्ड लगाइएका छन् ।

जनकपुर शहरभित्र पनि ठाउँठाउँमा पूर्वराजाको स्वागतमा ब्यानर टाँगिएका छन् । त्यो देखेर मधेशमा राजा आउन लागेको र राजाले मिन्दु धर्मको बारेका कुरा गर्ने भन्ने हल्ला छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्