न्यूयोर्क, २८ फागुन । राष्ट्रपति बिद्यादेवी भण्डारीले केही समयपछि संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने भएकी छन् । अमेरिका भ्रमणमा रहेकी राष्ट्रपति भडारीले राष्ट्रसंघीय महिलाको अवस्था सम्बन्धी आयोगको ६३ औं अधिवेशनको वुमन इन पावर’ नामक उच्चस्तरीय सम्मेलनमा सम्बोधन गर्न लागकी हुन् ।
राष्ट्रपति भण्डारी सोही सम्मेलनमा सम्बोधनका लागि सोमबार न्यूयोर्क पुगेकी थिइन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेकी राष्ट्रपति भण्डारीले सम्मेलनमा आज स्थानीय समयअनुसार ९ बजे अर्थात नेपाली समयअनुसार साँझ ६ः४० बजे सम्बोधन गर्ने बताइएको छ ।
सम्बोधनको क्रममा भण्डारीले नेपालमा हालसम्म भएको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धीको विषयमा विश्व समुदायलाई जानकारी गराउने परराष्ट् मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
उनले सम्मेलनमा नेपाली जनता, नेपाल सरकार र स्वयं आफ्नो तर्फबाट सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै नेपालमा महिलाको अवस्था र हालसम्मका प्रगतिबारे धारणा राख्ने बताइएको छ ।
पछिल्लो समय नेपालमा संसद र स्थानीय सरकारमा महिलाको प्रतिनिधित्व निकै उच्च रहेको छ । गणतन्त्र स्थापनाको छोटो अवधिमै नेपालले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश जस्ता विशिष्ट पदहरूमा एकसाथ महिला नेतृत्व स्थापित गरेको ऐतिहासिक घटनासमेत सम्बोधनको क्रममा बिश्व समुदायलाई जानकारी गराउने मन्त्रालय स्रोतको भनाइ छ ।
नेपालमा अहिले राज्यका विभिन्न अङ्गमा महिला प्रतिनिधित्व ‘अनिवार्य एक तिहाई’ हुनुपर्ने संबैधानिक व्यवस्थाका कारण संघीय संसदमा ३३.५ प्रतिशत, प्रदेशसभाहरूमा ३४.५ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला पदाधिकारीहरू निर्वाचित भएका छन् ।
राष्ट्रपति भण्डारीले स्रोत, शक्ति र अवसरमा महिलाहरूको पहुँच बढ्दै गएकाले परिवर्तनको प्रस्ट लक्षण देखिएको बिषयसमेत आफ्नो सम्बोधनमार्फत विश्वसमुदायलाई जानकारी गराउने जनाइएको छ ।



लाेकपाटी न्यूज

