‘आतंक मच्चाउनेसँग वार्ता गर्दैनाैं’ : प्रधानमन्त्री

Kp sharma oli PM
लाेकपाटी न्यूज

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र विस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँग मंगलबार भएको भेटघाटमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएको उनको निजी सचिवालयले जनाएको छ ।

फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न आएको टोलीसँग मंगलबार बालुवाटारमा कुरा गर्दै प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेहरुसँग वार्ता गर्नुको औचित्य नभएको बताएका हुन् ।

उनले भने, ‘कतिपयले वार्ता गर्नुर्पयो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन् । जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग केको वार्ता ? उनीहरुलाई कानुनबमोजिम नियन्त्रणमा लिइन्छ ।’

प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्यूनिस्टका नाममा घिनलाग्दो काम गरिरहेको बताए ।
उनले भने, ‘कम्यूनिस्टले त युवाहरुलाई कर्मशिल हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनु पर्ने हो । यहाँ त कम्यूनिस्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन् । यो हुन सक्ने कुरा होइन ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष गुरुङको घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गर्दै यस घटनाको बारेमा सरकारले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्