विप्लवको निशानामा जनप्रतिनिधि

Biplab netra bikram chand
लाेकपाटी न्यूज

सुर्खेत। कर्णाली प्रदेशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कारण सुरक्षा चुनौती देखिएको छ। पछिल्लो समय देशभरका आक्रमक गतिविधिले कर्णालीमा पनि सुरक्षा चुनौती थपिएको सुरक्षा अधिकारीहरु स्वीकार छन्।

कालिकोट, सुर्खेत, जुम्ला, मुगु, पश्चिमरुकुम, जाजरकोट र हुम्लालाई सुरक्षा निकायले सम्वेदनशील सूचीमा राखेको छ। सुरक्षा क्षेत्रको चुनौतीलाई मध्येनजर गर्दै कर्णाली प्रदेशका दश वटै जिल्लाका सुरक्षा प्रमुखले सुरक्षा निगरानी बढाएका छन्।

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जिल्लाको सुरक्षा अवस्था कडा गरिएको बताए। ‘केन्द्र र प्रदेशको निर्देशन अनुसार जिल्लामा सुरक्षा योजना बनाउने तयारी गरेका छाँै।’ प्रजिअ कार्कीले भने, ‘कानून विपरित कार्य गरेको भेटिएमा जो–सुकैलाई कानुनी दायरामा ल्याइने छ।’

भर्खरै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा गरिएका निर्णय र निर्देशन अनुसार जिल्ला सुरक्षा समिति अगाडि बढ्ने प्रजिअ कार्कीले बताए। नेकपाका प्रवक्ता खड्कबहादुर विक ‘प्रकाण्ड’को गृह जिल्ला पनि कालिकोट भएकाले सुरक्षा निकायले विशेष निगरानी गरेको छ।

विकट क्षेत्रमा प्रहरीको फितलो निगरानीका कारण जिल्लाका ९ वटै स्थानीय तहमा विप्लव समूहका सांगाठानिक संरचना बलियो बन्दै गएको छ। विप्लवले संगठन विस्तार गर्ने, नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने अभियानलाई निरन्तर दिनेजस्ता गतिविधि गरिरहेको छ।

स्थानीय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधि त्रसित बनेका छन्। भौगोलिक अवस्थाका कारण ग्रामीण क्षेत्रमा विप्लव समुहको पछिल्लो गतिविधिले जनप्रतिनिधि र कर्मचारी त्रसित बनेका हुन्। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको केन्द्र मेहलमुडीमा प्रहरी चौकीको गाउँपालिकाले माग गरेको छ। पछिल्लो समय विप्लव समुहले गरेका भौतिक आक्रमले गाउँपालिकामा त्रास छाएको जनप्रतिनिधिले बताएका छन्।

गाउँपालिकामा रहेका सरकारी कागजात पक्की घरमा नभएकाले पनि सुरक्षामा निकै चुनौती देखिएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही (डिवि) ले बताए। ‘कर्मचारी निकै डराएका छन्।’ अध्यक्ष शाहीले भने, ‘गाउँपालिकाको सदरमुकाममा बैंक पनि छ। तर, प्रहरी चौकी छैन। तत्काल सुरक्षा चाहिएको छ।’

सोही क्रममा प्रहरीले गाउँ–गाउँमा सभा गर्दै हिँड्ने नेकपा विप्लव समूहका नेता खोज्दै गाउँ सर्च गरिरहेको छ। जिल्ला सुरक्षा समितिले प्रहरीको विशेष सुरक्षा टोली परिचालन गरेको हो। गृह मन्त्रालयद्वारा विप्लव नेतृत्वको नेकपाका गतिविधि रोक्ने र नेता कार्यकर्तालाई नियन्त्रणमा लिनू भन्ने निर्देशनका आधारमा विप्लवका नेताको खोजी गरिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको नेतृत्वमा हात हतियारसहित पचालझरना र पलाँतामा सर्च भइरहेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले गृहमन्त्रालयको निर्देशन अनुसार जिल्लामा विप्लव निकट नेकपाका गलत गतिविधिलाई बिथोल्ने र नेताहरु पक्राउ गर्न गाउँमा गस्ती सुरु गरिएको बताए। डिएसपी शर्माले भने, ‘सबै प्रहरी युनिटलाई निर्देशन दिइसकेका छौं, उनीहरुलाई फेला पर्नासाथ पक्राउ गरिनेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्