अपराधी कुनै हालतमा उम्किँदैनन् : महानिरीक्षक खनाल

News Police
लाेकपाटी न्यूज

नवलपरासी, २८ फागुन। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीको हाताभित्र नवनिर्मित कार्यालय भवन, प्रशिक्षार्थी ब्यारेक, स्टाफ मेस र व्यायामशाला भवन सोमबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेका छन्।

सुनवल नगरपालिकाको सहयोगमा सोही महाविद्यालय हाताभित्र नवनिर्मित सर्पदंश उपचार केन्द्रको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सो नगरपालिकाका प्रमुख भिमबहादुर थापा क्षेत्रीले सोही कार्यक्रम बीच संयुक्त रुपमा उद्घाटन गरे।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरीको विकल्प भनेको राम्रो प्रहरी मात्रै हुने उल्लेख गर्दै प्रहरीले आफ्नो काम कारवाहीप्रति सदैव जिम्मेवार रहनुपर्ने बताए। प्रहरीलाई आपराधिक प्रवृत्ति कदापि स्वीकार्य नहुने उनले बताए।

सुनवल नगरपालिकाको सहयोगमा नवनिर्मित सर्पदंश उपचार केन्द्र समुदाय–प्रहरी साझेदारी कार्यक्रमको एउटा उल्लेखनीय उदाहरण भएको खनालले चर्चा गरे। महाविद्यालयलाई छिट्टै पूर्वाधारमैत्री बनाउने र उपचार केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्न एम्बुलेन्स लगायतका पूर्वाधारको व्यवस्था मिलाउन सक्दो पहल गर्ने उनले बताए।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरिक्षक नलप्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

उक्त अवसरमा भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक शंकर सिलवालले नेपाल सरकारको नियमित बजेट कूल ८ करोड ३० लाख ६४ हजार ७ सय ३० रुपैयाँ ६५ पैसाको लागतमा उक्त नवनिर्मित कार्यालय भवन, प्रशिक्षार्थी ब्यारेक, स्टाफ मेस र शौचालय समेतको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए। साथै उक्त व्यायामशाला भवन आन्तरिक श्रोतबाट निर्माण गरिएको उक्त अवसरमा जानकारी दिइयो।

प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाह, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरु लगायत तालिमरत प्रशिक्षार्थीहरु एवं स्थानीयबासीको उपस्थिति रहेको उक्त कार्यक्रममा महाविद्यालयमा तालिमरत कमाण्डो तालिमका प्रशिक्षार्थीहरुले खाली हात लडाइँ सम्बन्धी कौशल प्रदर्शनी तथा प्रशिक्षकहरुले होस्टेज रेस्क्यू अपरेशन प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्