‘परिस्थिति फेरिएको छ, क्रान्तिको नक्कल हुँदैन’ : प्रचण्ड (अन्तर्वार्ता)

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडौं, २८ फागुन। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच केन्द्रमा एकता भएको १० महिना पुग्नै आँट्यो। तर, स्थानीय तहमा एकता भइसकेको छैन। सरकारका कामबारे पनि जनस्तरमा समीक्षा भइरहेको छ। सिके रउातसँग सरकारले गरेको ११ बुंदे सम्झौतापछि त्यसको तरङ्ग सबैतिर फैलिएको छ।

यी सबै घटनाक्रमलाई नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कसरी हेरिरहेका छन् ? कहिले टुंगिन्छ एकता ? यस्तो छ प्रचण्डको ताजा अन्तर्वार्ता।

पछिल्ला राजनीतिक घटनाक्रमलाई कसरी हेर्नु भएको छ ?

निर्वाचनपछि राजनीतिले एउटा कोर्स पक्रेको छ। देशमा एउटा स्थिर सरकार बनेको छ। राजनीतिक अस्थिरताको एउटा प्रक्रियाको निर्वाचनपछि अन्त्य भएकै छ। अब हाम्रो पार्टी र सरकारको ध्यान विकास निर्माण र समृद्धितिर बढी नै केन्द्रित छ र त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरामा नै छ।

सरकारको एक वर्ष पुगेको अवसर र पार्टी एकीकरणको घोषणा भएको झण्डै नौ महिना पूरा भएपछिको अवस्थामा हामी गम्भीर समीक्षामा छौं। स्थायी कमिटीको बैठकमा पनि लामो समय लिएर नै हामीले समीक्षा गर्‍यौं। पार्टी एकतालाई तलसम्म टुङ्गाउने कुरा र जनसंगठनहरूलाई पनि एकताबद्ध गर्ने कुरामा अलिक विलम्व भयो भन्ने हाम्रो साझा निष्कर्ष नै हो। अब छिटोभन्दा छिटो यसलाई टुंग्याउनु पर्दछ र सरकारले गरेका कामहरूको समीक्षा गर्दै राम्रा कामहरूलाई संस्थागत गर्दै लान पनि तल्लो तहसम्म पार्टी एकतामा टुङ्गो लाग्नुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौं। र, कतिपय कामहरू जनभावनाअनुरुप भइरहेका छैनन् भन्ने समेत गुनासो आइरहेको अवस्थामा त्यसलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे हाम्रो छलफल केन्द्रित हुने गरेको छ।

यहाँले यो दशक समाजवादी क्रान्तिको तयारीको दशक भन्दै आउनुभएको छ र पार्टी एकताका लागि यहाँले नै सबैभन्दा बढी पहल गर्दै हुनुहुन्छ। विकसित परिस्थिति, सरकारको भूमिका, पार्टीभित्र एक खालको अवस्था लगायत सबै हेर्दा र हामीले खोजेको ‘चीज’को बीचमा तादात्म्यता नमिलेको जस्तो लाग्दैन ?

अहिलेको प्रक्रिया आफैंमा धेरै ठूलो परिघटना हो। पार्टी एकता, कम्युनिस्ट पार्टीको झण्डै दुईतिहाई बहुमतको सरकार गठनको स्थिति बनाउनु र जनतामा हामीले जे–जस्ता कुराहरू पहिले सम्प्रेषित गरेका छौं, ती कुराहरू प्राप्त गर्ने कुराहरू असाधारण एवं दूरगामी महत्वका ऐतिहासिक परिघटना हुन्। यो परिस्थिति सिर्जना गर्नेमा एउटा पार्टीको नेताको हैसियतले या यो परिवर्तनमा आफूले खेलेको भूमिकाको कारणले पनि मेरो अलि बढी नै पहलकदमी थियो। यो कुरा आम नेपाली जनता लगायत दुनियाँलाई थाहा भएकै कुरा हो। पार्टी एकता गराउने, राजनीतिक स्थिरता गराउने र देशलाई समाजवादतिर डोर्‍याउने आधार पार्ने कुरामा मेरो अलि बढी नै ध्यान थियो।

मैले राष्ट्रको बृहत्तर उद्देश्यका निम्ति, कम्युनिस्ट आन्दोलनको दीर्घकालीन हितका निम्ति र जनताको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्नका निम्ति यो बाटो जानु अनिवार्य छ भन्ने महसुस गरेर नै पहल गरेको हुँ। मैले त्यसो गर्नका लागि व्यक्तिगत पद, प्रतिष्ठाका कुरा सबै छोडेर यो पहल गरेको हुँ। किनकि मैले चाहेको भए त्यति बेला मैले ५ वर्ष निरन्तर प्रधानमन्त्री हुने अवसरहरू धेरै तिरबाट आएका थिए। मैले त्यो राष्ट्रको आवश्यकता होइन भन्दै पार्टी एकता, राजनीतिक स्थिरता र बलियो सरकार गठन नै अहिलेको आवश्यकता हो भन्दै यो बाटो रोजेको हुँ। मैले जनतासँग जे वाचा गरेको छु, त्यसप्रति दृढ र इमान्दार रहनु नै इतिहासको आवश्यकता हो भन्दै यो पहल गरेको हुँ। अब यसलाई मानिसहरूले बुझ्छन्, बुझ्दैनन्, यसबारे बहस हुन्छ या हुँदैन, बुद्धिजीवीहरू पत्रकारहरू सबैले यसलाई कुन रूपमा ग्रहण गर्छन्, यो भोलिका दिनमा देखिँदै जानेछ। मेरो उद्देश्य त्यही हो।

असन्तुष्टि र आशङ्का त चुलिए नि, होइन ?

अहिले पार्टी एकतामा भइराखेको ढिलाईले धेरै साथीहरूमा केही आशंकाहरू जन्मेका छन्। तर, यसको अर्थ साथीहरू निराश नै भइसकेका छन् भन्ने होइन । तर, प्रक्रिया छिटो भइदिए हुन्थ्यो भन्ने सबैको चाहना हो भन्ने मैले बुझेको छु। विकास निर्माणका कामहरूले गति लिइदिए हुन्थ्यो भन्ने जनचाहना छ र म त्यसलाई नै सम्बोधन गर्न अगाडी बढेको हुँदा मैले अप्ठ्यारो महसुस गरेको छैन, यद्यपि यसमा चुनौतीहरू ठूला छन् भन्ने महसुस मैले गरेको छु।

सरकारले जसरी जनताको मागहरू सम्बोधन गर्नुपर्थ्यो, त्यसरी नभइरहेको गुनासो एकातिर छ भने सरकार विभिन्न आलोचनामा पर्दै गइरहेको छ। पछिल्लो घटना स्वतन्त्र मधेश गठबन्धनसँग गरिएको सम्झौता नै हेर्ने हो भने पनि यो सम्झौता हतारमा गरिएको थियो या चर्चाकै लागि थियो भन्ने आरोप समेत लागिराखेको छ। यसलाई कसरी हेर्नुभएको छ ?

राजनीतिक रूपले हेर्दा देशमा पृथकतावादी गतिविधि सञ्चालन गरिराखेको समूहले हामी देशको संविधान मान्दै देशको राष्ट्रिय एकता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनतालाई अक्षुण राख्न मूलधारको राजनीतिमा आउँछौं भन्नु नराम्रो होइन र सरकारले त्यस्तो प्रवृत्तिलाई पनि राष्ट्रको हितमा प्रयोग गर्न पहल गर्नु पनि सकारात्मक नै हो।

तर सहमतिमा प्रयोग भएको भाषा, अहिले चर्चा भए अनुसार, त्यो दुई अर्थ राख्ने खालको छ भन्ने छ र अर्को कुरा यहाँबाट सहमति गरेर जाने समूहले पनि पूरानै नारा, पूरानै झण्डा प्रयोग गरी आफू सफल भएको र सरकारलाई झुकाएको भन्ने किसिमले प्रस्तुत भएको भन्ने कुराले केही विवाद त भएकै छ। तर, यसलाई केही दिन हेर्नैपर्ने हुन्छ। अब उनीहरू साँच्चिकै मूलधारमा आएका हुन् या होइनन्, संविधान, राष्ट्रिय एकता र अखण्डतालाई स्वीकार गरेका हुन् कि होइनन् भन्ने बुझ्न केही दिन हेर्नु नै पर्ने हुन्छ।

विशेषगरि यस मामिलामा उनीहरू ‘रणननीतिक तयारी’का साथ आए र सरकारले पर्याप्त तयारी गरेन, त्यसमा फस्यो भन्ने चर्चा समेत आइराखेको छ । यो के हो ?

यो विषयमा सचिवालयको बैठकमा छलफल भएको थियो। तर, त्यसबेलासम्म सहमति भइसकेको थियो। त्यहाँ मैले भनेको थिएँ, ‘यो सरकारको काम भयो, यो राम्रो भए यसको जस सरकारमा जान्छ र नराम्रो भए अपजस पनि सरकारमै जान्छ। हाम्रो चाहना चाहिँ राम्रो होस् भन्ने हो।’ अब अहिले नै हतार गरेर यो सबै खत्तम भयो भन्ने त होइन। तर, जसरी सरकारले भनेजस्तै राष्ट्रिय एकताका निम्ति, भौगोलिक अखण्डताको, संविधानको मर्म र भावनामा ल्यायौं भने अनुरुप नै यस सहमतिको ‘स्पिरिट’ हो र यदि उनीहरूले यो सहमति मानेनन् भने सरकारले जुनसुकै बेला पनि आफ्नो संयन्त्र प्रयोग गरेर जतिबेला कारवाही गर्न सक्छ।

यसबारेमा यहाँसँग पनि छलफल गरिएन भन्ने कुरा पनि बाहिर आएको छ। कुरा के हो ?

यो विषयमा म अहिले केही चर्चा गर्न चाहन्नँ।

यहाँसँग सिके राउतको तुलना गरिएकोमा पनि आम मान्छेमा निकै चासो छ । यहाँको के विचार छ ?

त्यस कार्यक्रममा म पनि उपस्थित थिएँ। प्रधानमन्त्रीले तुलना गर्नकै लागि त्यसो भनेको जस्तो मलाई लाग्दैन। बरु बोल्दै जाँदा उहाँले ‘प्रचण्डले जस्तै ठूल्ठूला निर्णय गर्नसक्ने क्षमता उहाँमा पनि भएको’ भनेर प्रसंगवश भन्नुभएको छ। तर, अहिलेको बहस भनेको यो तुलना गर्नु ठीक थियो या थिएन भनेर हो । यस बहसले अन्ततोगत्वा यस विषयलाई बुझ्न मद्दत नै गर्छ। यसमा मेरो केही चित्त दुःखाइ छैन।

यसो हेर्दा कतिपय महत्वपूर्ण निर्णयहरू यहाँसँगको सहमतिमा नहुने या यहाँसँग छलफल नै नहुने भन्ने कुरा समेत आउने गर्छ। यस्तो स्थितिमा यहाँले भनेजस्तो समृद्धिकै कुरा गर्ने हो भने यहाँको सोच र ‘भिजन’अनुसार कुराहरू अगाडि नबढ्ने हो भने यसले त कतै न कतै निराशा बढाउने र अस्थिरता बढाउँछ जस्तो लाग्दैन ?

त्यसो होइन। हामी छलफल गरि नै राखेका छौं। सबै कुरा समझदारीबाटै टुंग्याउने भन्ने छ। अहिले यो विधि र प्रक्रियाको बारेमा बढी चर्चा गर्नु जरूरी छैन। अहिले दुवै अध्यक्ष र सचिवालयका सबै सदस्यहरूले समेत पार्टी एकता टुंग्याउने र सरकारलाई गति दिने ढङ्गले जाउँ भन्ने कुरामै केन्द्रित रहेकाले यसबारे बढी टिप्पणी गर्नुले खासै फाइदा हुन्छ जस्तो मलाई लाग्दैन।

विप्लवको बारेमा जसरी सरकार अगाडि बढिरहेको छ या उनीहरूको जस्तो व्यवहार या गतिविधि देखिएका छन्, त्यसले भोलि गएर दुर्घटना निम्त्याउन सक्छ भन्ने आवाज सदनमै उठिसक्यो। यहाँले विप्लवलाई नजिकबाट हेर्नुभएको छ। यहाँकै स्कुलिङमा हुर्केको हो उहाँहरू। यसलाई कसरी हेर्नुभएको छ ?

उहाँहरूले अहिलेको राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिलाई राम्रोसँग बुझ्नुपर्ने हुन्छ। हामीले सबैको सहमतिमा शान्ति प्रक्रियामा अगाडि बढेको ऐतिहासिक तथ्यलाई राम्रोसँग बुझ्नुपर्ने हुन्छ। हिजो जनयुद्ध र जनआन्दोलनको संयोजनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको कुरालाई एउटा ठूलो राजनीतिक उपलब्धिको रूपमा आत्मसात गर्नुपर्ने हुन्छ र यो प्रक्रियाबाट नै आफ्ना कुरा राख्ने अहिले त ठाउँ छ भन्ने मेरो उहाँहरूलाई सुझाव छ र यसो गरिएन भने राम्रो चाहिँ हुँदैन।

हिजो मैले जसरी रणनीति, कार्यनीति या स्कूलिङ भनौं न गर्याथिएँ, त्यही कुरालाई विप्लवहरुले पछ्याउन खोजेकोबाहेक अरु केही म देख्दिनँ। त्यो हिजोको कुरालाई ‘फलो’ अहिले गर्ने होइन, हिजोको एउटा भिन्न परिस्थिति थियो। जस्तोः राजतन्त्र विद्यमान थियो, राज्यमा कहीँ कतै पनि उत्पीडित जाति, क्षेत्र, लिंगको प्रतिनिधित्व नहुने गरेको अवस्था थियो, विभेद चौरैतिर थियो, त्यो स्थिति अहिले होइन।

कम्युनिस्ट पार्टीकै नामबाट कम्युनिस्ट पार्टीकै नेतृत्वबाट अहिले कामहरु भइराखेको हुनाले यो त विप्लवजीहरुको लागि चाहिँ एउटा राम्रो अवसर हो। एउटा सकारात्मक सम्वादद्वारा देशलाई र राजनीतिलाई अगाडि बढाउने अहिले त विप्लवजीहरुलाई ऐतिहासिक अवसर हो। तर, उहाँहरुले किन नबुझ्नु भएको हो ? अनि हिजोको २०-२२ वर्ष अगाडिको परिस्थितमा अपनाइएका कुराहरुलाई नक्कल गरेर कहीँ पनि पुगिँदैन। यो कुरा उहाँहरुले बुझ्न जरुरी छ। यो कुरा नबुझेर जबरजस्ती गर्न खोजे भने त राज्यले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ। त्यो स्थिति नआओस् भन्ने चाहन्छु म।

विप्लवजीहरुको लागि यो राम्रो अवसर हो। उहाँहरुले यो अवसरलाई सदुपयोग गर्न अगाडि आउनुपर्छ, यसले गर्दा उनीहरुलाई फाइदा हुन्छ। यो कुरा नबुझेर बेकारमा फेरि खुनखराबा गरेर केहीमान्छे मर्ने–मार्ने गरेर केही हुनेवाला छैन। फेरि जनताको त्यो साथ हिजो हामीले जे प्राप्त गरेका थियौं, त्यो पनि हुने स्थिति अहिले होइन। किनभने त्यस्तो परिस्थिति अहिले छैन। जहाँसम्म प्रधानमन्त्रीजीले अस्ति शब्द प्रयोग गर्नुभयो। कतिपय शब्दहरु प्रयोग नगरेको भए राम्रो हुन्थ्यो, प्रधानमन्त्रीको हैसियत तथा तहबाट त्यस्ता शब्द प्रयोग नगर्दा राम्रो हुन्थ्यो भन्ने टिप्पणी त ठीकै छ। तर, प्रधानमन्त्रीजीले पनि यो विषयमा सम्वाद, सहकार्य भए त राम्रै हुन्छ भन्ने चाहना राख्नुभएको छ।

यो समग्र घटनाक्रममा बाह्य शक्तिको चलखेल के देख्नुहुन्छ ?

जहिले पनि विभिन्न राजनीतिक पार्टीहरुले पनि आफ्नो राजनीतिक वर्चश्व कायम गर्नका लागि अनेक चलखेल गरिराखेकै हुन्छन्। कम्युनिस्ट पार्टीले गर्छ, नेपाली कांग्रेसले गर्छ, अरु सबै पार्टीले गर्छन्। पार्टी भनेकै आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि अनेक पहल गर्छन्। त्यस्तै, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले पनि आ–आफ्नो इच्छाअनुसार, आ–आफ्नो राष्ट्रिय स्वार्थ र हितअनुसार हाम्रोजस्तो सानो, कमजोर देशलाई कुनै कुनै रुपमा त्यहाँभित्र चलखेल त गर्छन् नै। तर, मुख्य कुरा त आफैं हो। आन्तरिक नै मुख्य हो। शक्तिहरु त हिजो पनि धेरै गर्दागर्दै पनि संविधान बन्यो, गर्दागर्दा पनि चुनाव-परिर्वतन भयो।

के लाग्दो रहेछ भने आन्तरिक शक्तिहरु ठीक ठाउँमा उभिएपछि त जीत अगाडि बढ्दो रहेछ। अहिले पनि मुख्य कुरा चाहिँ आन्तरिक राजनीतिक शक्तिहरुको बीचमा समझदारी नै हो। त्यसो भएमा कसैले चलखेल गर्दैमा केही हुँदैन। चलखेल त चलिरहेकै छ। यो कुरा चाहिँ पक्का हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्