‘बाँझो जग्गा सरकारले लिजमा लिन्छ’ : मन्त्री अर्याल

Padma Aryal (11)
लाेकपाटी न्यूज

पोखरा, २७ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले काम गर्ने व्यक्ति दिन प्रतिदिन गरीब बन्दै जाने र काम नगर्ने धनी बन्दै जाने समस्या गम्भीर रुपमा देखिएको बताएकी छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाचौँ राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री अर्यालले भनिन्, ‘भूमिविहीनलाई जग्गा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।’

संसदबाट भू–उपयोग विधेयक पारित भएको र यससँगै नयाँ ढङ्गले जमीनको वर्गीकरण शुरु हुने मन्त्री अर्यालले बताइन् । सरकारले भूमि बैंकको परिकल्पना गरेको र बाँझो जग्गामा खेतीका साथै एकीकृत कृषि फर्म सञ्चालनलगायत कुरालाई अघि बढाइने उनले बताइन् ।

त्यस्तै राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले देशको समृद्धि र विकासका लागि भूमि सुधारका साथै कृषि क्षेत्रको सुधार हुनुपर्ने आवश्यकता औँल्याइन् । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले सरकारले बाँझो जमीनमा खेती गर्ने वातावरण तयार गर्नुपर्ने बताए । उनले खेती गर्न चाहने व्यक्तिलाई भूमि बैंकमार्फत जग्गा उपलब्ध गराउनुपर्नेमा जोड दिए । वर्षाैं देखि बस्दै आएका सुकुम्वासीलाई सरकारले न्यायोचित रुपमा व्यवस्थापन गर्नुपर्ने पूर्वअर्थमन्त्री महतको भनाइ थियो । ‘सरकारमा नरहे पनि सहयोग गछौँ’, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरी, भूमि अधिकारकर्मी जगत देउजालगायतले वर्षाैंदेखि जमीनमा श्रम पसिना बगाएर पनि मालिक बन्न नसकेका भूमिविहिनको जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्