पोखरा, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमि अधिकारको समस्या वर्तमान सरकारले समाधान गर्ने बताएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाचौँ राष्ट्रिय सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले जतिसुकै चुनौती भए पनि भू–उपयोग नीति अघि बढ्ने र भूमिसम्बन्धी समस्या समाधान हुने बताए ।
वर्षांैदेखि जमीनमा रगत र पसिना बगाएका किसानलाई जमीनको मालिक बनाउनुपर्ने र उनीहरूलाई अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए । दश वर्षसम्म भूमि सुधारकै लागि आफूहरूले सङ्घर्ष गरेको र नेपालमा आर्थिक समृद्धिसँग भूमिसुधार प्रत्यक्ष जोडिएको उनले बताए । ‘भूमिसम्बन्धी समस्या समाधान गर्न नसके सरकारमा बस्नुको औचित्य हुँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘समस्याको दीर्घकालीन समाधानका लागि कम्युनिष्ट पार्टी सरकारले पहलकदमी लिनुपर्छ ।’
घोषणापत्रलाई विश्वास गरेर जनताले आफूहरूलाई जिम्मेवारी दिएको प्रष्ट पार्दै उनले भने, ‘यस अवधिमा भूमि समस्या समाधान, औद्योगिकीकरण, उत्पादन वृद्धि, रोजगारी वृद्धिजस्ता काम गर्न नसके जनता सधैँ कम्प्युनिष्ट पार्टी भनेर बस्दैनन्, जनता सार्वभौम छन् ।’ पार्टी एकीकरणपछिका बाँकी काम अघि बढिरहेको र त्यसलाई चाँडो टुङ्गोमा पुर्याइने उनले बताए ।



लाेकपाटी न्यूज

