‘धाेका दिए सिके राउत सकिन्छन्’ : गृहमन्त्री

Ram Bahadur thapa Badal
लाेकपाटी न्यूज

बुटबल, २७ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतसँग सरकारले गरेको सहमतिलाई गलत रुपमा व्याख्या भइरहेको बताउँदै सहमतिमा धाेका दिए सिके राउत सकिने बताएका छन् । सिके राउत देश टुक्राउने पक्षमा नरहेको भन्दै राजनीतिक मुद्दालाई जनअभिमतबाट संविधान संशोधन र राजनीतिक अधिकारलाई पूर्णता दिन सकिन्छ भनेर राउतसँग सहमति भएको गृहमन्त्रीको भनाइ छ ।

रुपन्देहीको भैरहवामा सोमबारदेखि सुरु भएको प्रदेश नम्बर ५ स्तरीय दुई दिने सुरक्षा गोष्ठीमा बोल्दै बादलले जनमत संग्रहबाट राष्ट्रलाई अलग पार्ने सोच सिके राउतमा पनि नभएको बताए ।

उनले भने, ‘नेपाल अखण्ड राज्य हो, देशको अखण्डता कायम गर्न प्रतिबद्ध छौं, यो हाम्रो कर्तव्य हो भनेर स्वतन्त्र मधेश गठबन्धनले प्रतिबद्धता जनाएपछि राजनीतिक सहमति भएको हो ।’

नेतृत्वले आफ्नो कार्यकर्तामा त्यस किसिमको सन्देश सम्प्रेषण गर्न बाँकी रहेकोले आइतबार जनकपुरमा सहमति विपरितको गतिविधि देखिएको उनले दाबी गरे ।

राज्यविरोधी र व्यवस्था विरोधी तत्त्व र समूहहरुको गतिविधि नियन्त्रण गर्ने र उनीहरुलाई मुलधारमा ल्याउन सरकार निरन्तर प्रयत्नशील रहेको बताए ।

उनले विप्लवलाई लक्षित गर्दै राज्यविरोधी, संविधान विरोधी र व्यवस्था विरोधी तत्वबाट शान्ति सुरक्षा र प्रगतिको लागि चुनौती भएकोले यसलाई पनि सफलतापूर्वक निष्तेज र नियन्त्रण गरिने बताए ।

हिजोबाट शूरु भएको गोष्ठीमा १२ जिल्लाका सुरक्षा निकाय प्रमुखको उपस्थिति रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्