‘देशकाे पक्षमा बाेल्दा टाउकाे दुखे सिटामाेल खानुस्’ : भीम रावल

Bhim-Rawal-2
लाेकपाटी न्यूज

काठमाडौं, २७ फागुन । सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विवाद देखिएको छ । हस्ताक्षरमा सहमति भएकै दिन केही नेताहरूले असन्तुष्टी व्यक्त गरेका थिए । पछिल्लो समय भने दुबै पक्ष सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपमा उत्रिएका छन्।

नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावलले सहमतिमा प्रयोग भएको भाषाको विरोध गरेपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले नेताहरूमाथि नै त्यही शैलीमा जवाफ फर्काएका छन् । रावलले आइतबार प्रतिनिधि सभामा समेत सहमतिको भाषालाई लिएर विरोध जनाउँदै देशको पक्षमा बोल्दा कसैको टाउको दुखे सिटामोल खान सुझाव पनि दिएका थिए ।

उनले राति सामाजिक सञ्जाल ट्वीटरमा ‘देशको हितमा बोल्दा कसैको टाउको दुःखे देशभक्तिको चक्की खानु उचित होला’ भन्दै टिप्पणी लेखेका छन् ।

सहमतिमा हस्ताक्षर हुनु केही समय पहिले मात्र राउतसँग भएको सहमतिबारे थाहा पाएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रश्न गरेका छन्, ‘नयाँ नेपाल बनाउने कि देशमाथि खेलवाड गर्ने ? उनले सहमतिलाई इङ्गित गर्दै ‘गम्भीर आत्मसमीक्षा’ गर्दै राजनीति सफा पार्नु पर्ने तर्क गरेका छन् ।

राष्ट्रिय सभा गृहबाट सहमति घोषणा अघि बालुवाटारमा राउतसँग सहमतिका लागि भएको छलफलमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकारले भने पार्टीकै नेताहरुलाई व्यङ्ग कसेका छन् ।

उनले लेखेका छन्, ‘नेताहरू झुक्किए, फसे वा फसाइए या तिनिहरूले गल्ति नै गरे पनि कोइवात छैन । हामी धन्य छौं, मुलुक जोगाउने एकसे एक उहाँहरू हुनुहुन्छ । आङ् सिरिङ्ग हुन्छ र साह्रै आश्चर्य लागि रहेको छ, उहाँहरूको जन्म अघि यो मुलुक कसरी जोगिए छ ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्