‘जनमत संग्रहकाे कल्पना गर्न सकिन्न’ : प्रचण्ड

prachanda -11
लाेकपाटी न्यूज

पोखरा, २७ फागुन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने बताएका छन् ।

गत २४ फागुनको सहमतिका आधारमा सीके राउत पक्षले जनमत संग्रहलाई सरकारले स्वीकार गरेको अथ्र्याइरहेका बेला प्रचण्डले सरकारले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘जनमत संग्रहलाई संसदको दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने हुन्छ । सरकारले चाहँदैमा जनमत संग्रह हुँदैन ।’

शुक्रबार संसदमा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादल ले पनि राउतसँग जनमत संग्रहको सहमति नभएको प्रष्ट्याइसकेको उनले उल्लेख गरे ।

यद्यपी, आइतबार जनकपुर पुग्दा राउत समर्थकले स्वतन्त्र मधेशको नारा लगाउँदै जनमत संग्रहको पक्षमा नारावाजी गरेका थिए, जसले गर्दा राउत पक्षले धोका दिनसक्ने विश्लेषण राजनीतिक क्षेत्रमा हुन थालेको छ ।

यस विषयमा नेकपाका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुराकानी भएको उनले जानकारी दिए ।

‘यस विषयमा मेरो प्रधानमन्त्रीजीसँग कुराकानी भयो’ उनले भने, ‘प्रधानमन्त्रीले सीके राउतले आफ्नो समूहलाई सहमतिका विषयमा बुझाउन बाँकी रहेकाले त्यस्तो भएको हो भन्नु भएको छ ।’

सबै राजनीतिक प्रबृतिलाई बुझेर मूलधारको राजनीतिमा ल्याउनु सरकारको दायित्व भएकाले त्यसैअनुसार राउतसँग सहमति गर्नु जायज भएको उनले बताए ।

‘सरकारको ‘इन्टेन्सन’ पृथकतावादी आन्दोलनको प्रबृतिलाई मलजल हुने वातावरण बनाउन हुँदैन भन्ने हो’ प्रचण्डले थपे, ‘यस्तो प्रबृति भोलि पनि बढ्नसक्ने खतरा बुझेर मूलधारमा ल्याउने पहल भएकाले शंका गर्नु जरुरी छैन् ।

सहमति विपरित राउत पक्षले पृथकतावादी बाटो अख्तियार गरिरहे सरकारले कारबाही गर्ने संकेत पनि उनले गरे । उनले भने, ‘त्यतातिर गयो भने के गर्ने भन्ने अधिकार सरकारमा निहित छ’ उनले भने, ‘त्यसैले, तरंगित हुनु पर्ने देख्दिन ।’

राउतसँगको सहमति सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले राउतलाई प्रचण्डसँग तुलना गरेका थिए, जसले गर्दा नेकपाभित्रै प्रम ओली आलोचित हुँदै आएका छन् ।

राउतलाई आफूसँग तुलना गरेकोमा प्रम ओलीको आलोचना भइरहँदा प्रचण्डले चाहिँ ओलीको बचाउ गरे ।

उनले भने, ‘मूलधारमा आउने भन्ने सन्दर्भमा उहाँले त्यो भन्नु भएको हो । ओलीजीले त्यसरी तुलना नगर्दा पनि हुन्थ्यो । तर गर्नुभयो, त्यो त्यति ठूलो कुरा होइन ।’

कतिपय ठाउँमा ओलीले आफ्नो प्रशंसा पनि गरेको बताउँदै प्रचण्डले भने, ‘निर्णय क्षमता भएको भन्ने अर्थमा उहाँले यस्तो भन्ने गर्नुभएको छ, त्यस्तै निर्णय क्षमताको सन्दर्भमा राउत र मेरो तुलना गर्नुभएको होला । तर, तुलना आफैँमा लंगडो हुन्छ, सबै तुलना एक अर्कासँग मिल्दैनन् । त्यसैले, मैले त्यसलाई अन्यथा मानेको छैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्