चितवन, २७ फागुन । चितवनको भरतपुर विमानस्थलले हालसम्म जडान नभएका अत्यावश्यक उपकरण थप्ने भएको छ । विमास्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिँदै विमानस्थलमा हालसम्म जडान नभएका उपकरण भित्र्याइएको छ भने विभिन्न संरचना निर्माण गर्ने कार्य पनि भइरहेको छ ।
भरतपुरका नागरिक उड्डयन प्राधिकरण प्रमुख पवनकुमार गौतमकाअनुसार नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरीद गरी पठाएको छ । सो उपकरणलाई रु. ९० लाख पर्ने बताउँदै उनले एक साताभित्रमा उपकरण जडान भई सक्ने बताए ।
विमानस्थलमा लगेज स्क्यानर नहुँदा यात्रुको झोला खोलेर देखाउनुपर्ने बाध्यता रहेको छ ।
यससँगै विमानस्थलको स्तरोन्नतिको कामलाई पनि तीव्रता दिइएको छ । यसै क्रममा धावनमार्ग ‘ओभर ले’ गरिँदैछ । एक हजार २०० मिटरको धावनमार्गलाई निर्माण पछि हालसम्म ‘ओभर ले’ गरिएको छैन ।
विमानस्थलमा भएको साँगुरो पार्किङ क्षेत्रलाई पनि विस्तार गरिँदै छ । अहिले साना जहाज चारवटा अटे पनि एटिआर र जेट स्टिम एक साइडमा एउटा मात्रै अटाउन सक्छन् । पार्किङ निकै साँघुरो भएको महसुस विगतदेखि नै हुँदै आएको बताउँदै गौतमले दुवैतर्फ कम्तीमा पनि २०÷२० मिटर थप गर्न लागिएको बताएका छन् ।
एउटा हेलिप्याड छुट्टै बनाउने र बाँकी चारवटा विमान सजिलैसँग अटाउने गरी पार्किङको व्यवस्थापन गर्न लागिएको बताइएको छ । सबै काम यसै आर्थिक वर्षमा शुरु हुने उनले बताएका छन् ।
बुद्ध, यती र सिम्रिक एयरलाइन्सले भरतपुर–काठमाडौं दैनिक १० जहाज उडाउँदै आएका छन् । भरतपुर विमानस्थल आसपासका क्षेत्रमा ठूला संरचना बनेसँगै उडान र अवतरण कठिन हुँदै आएको छ । विमानस्थलको धावनमार्ग विस्तार गर्न पहलसमेत शुरु गरिएको छ । धावनमार्ग विस्तारसँगै ठूला जहाज अवतरण गर्न र रात्रिकालीन सेवासमेत दिन सकिने जनाइएको छ ।



लाेकपाटी न्यूज

