काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले हतियार र विस्फोटक पदार्थ भारतबाट भित्राउने गरेको छ। केही दिनदेखि विप्लव समूहले मुलुकका विभिन्न ठाउँमा आगजानी र बम बिस्फोट गराएको थियो।
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले खुला सीमाका कारण भारतबाट अवैध रूपमा विस्फोटक सामग्री भित्रिएको दाबी गरेका छन्। उनले द्वन्द्वका समयमा सञ्चित विस्फोटक पदार्थलाई अहिले विप्लव समूहले प्रयोग गरिरहेको बताए। सुवेदीले विस्फोटक पदार्थ सञ्चितबारे प्रहरी चनाखो भएर लागेको बताए।
प्रहरीको विशेष ब्युरोमा लामो समय काम गरेका एक अधिकृतले भने, ‘ द्वन्द्वकालमा तत्कालीन माओवादीले हतियार र अन्य विस्फोटक पदार्थ भारतबाट ल्याएका थिए। अहिले विप्लवले पनि सोही संयन्त्रबाट विस्फोटक पदार्थ भित्राएको देखिन्छ।’
विस्फोटक पदार्थलगायत अवैध वस्तु उपत्यका भित्रिने प्रमुख नाका थानकोट हो। थानकोटमा खटिएका प्रहरी अझै पनि प्रविधिमैत्री छैनन्। प्रहरी जवानले डायरीमा गाडी आउजाउ गरेको तथ्यांक संकलन गरेर बस्छन्। जगाती, फर्पिङ, बाइपासलगायतबाट पनि निर्बाध गाडी आउजाउ हुन्छ। सुरक्षा जाँचमा खटिएका प्रहरीसँग गाडी स्क्यान गर्ने प्रविधि छैन। हेरेको र छामेको भरमा सुरक्षा चलेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार फागुन ११ गतेपछि विभिन्न जिल्लाबाट विप्लव समूहमा ३७ जना कार्यकर्ता पक्राउ परेका छन्। तीमध्ये केही जिल्ला सेक्रेटरी छन् भने केही केन्द्रीय सचिवालय सदस्य छन्। प्रहरीले केहीलाई शान्तिसुरक्षा खल्बल्याएको आरोपमा सार्वजनिक अपराधमा मुद्दा चलाएको छ। केही भने धरौटीमा छुटिसकेका छन्।
नख्खुस्थित एनसेल मुख्यालयमा लक्षित गराई भएको बम विस्फोटमा विप्लवका कार्यकर्ता सूर्य भुजेल पक्राउ परे। गत साता शुक्रबार वसुन्धरामा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको गाडीमा विस्फोट गराएको जिम्मासमेत विप्लव समूहले नै लिएको छ।
प्रहरी मुख्यालयका एक अधिकृत भन्छन्, ‘पक्राउ परेका कसैले पनि विस्फोटक पदार्थ ल्याएको ठाउँबारे खुलेर भन्दैनन्। बरु उनीहरू जस्तोसुकै कारबाही भोग्न तयार देखिन्छन्।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ।



लाेकपाटी न्यूज

