नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घण्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ।
आइतबार जनकपुर पुगेका राउतलाई समर्थकले स्वतन्त्र मधेसको नारा लगाउँदै स्वागत गरेका छन्। सरकारी अंगरक्षक लिएर कार्यक्रम पुगेका राउतलाई बुलेटप्रुफ ज्याकेट लगाएका कार्यकर्ताले सुरक्षा दिएका थिए। कार्यक्रममा ‘मधेश नेपाल होइन, मधेश दक्षिण एसियाको नयाँ देश हो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकिएको थियो।
राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै जनकपुर विमानस्थल पुगेका थिए। कालो ज्याकेट, कालो चस्मा र मास्क लगाएर लाइन लागेका राउतका कार्यकर्ताले विमानस्थल भरिएको थियो। भिआइपी कक्ष, ढोका र परिसरसम्मै उनका कार्यकर्ता तैनाथ थिए।
सिरहा, सप्तरीलगायत जिल्लाबाट आएका कार्यकर्ताले जनकपुरमा स्वतन्त्र मधेसको पक्षमा विभिन्न नारा लगाएका थिए। प्रहरी भने मूकदर्शक थियो। कार्यक्रममा जनमत संग्रहको नारा लगाइएको थियो।
शुक्रबार सरकारसँग ११ बुंदे सहमति गरेका राउतले स्वतन्त्र मधेशको मुद्दा नछोड्ने भएका छन्। शुक्रबार आफ्नो मन्तव्यमा पनि राउतले सरकार जनमत संग्रहका लागि तयार भएको र आफूले स्वतन्त्रताका लागि सहमति गरेको बताएका थिए।
सम्बोधनमा राउतले आफूले पृथकतावादको नारा बोकेकोमा पश्चाताप गरेनन्। बरु, शान्तिपूर्ण आन्दोलनमा पुलिसले दमन गरेको र दमन गर्नेहरुलाई आफूहरुले गुलाब दिएको भन्दै सरकारमाथि कटाक्ष गरे। शुक्रबारको उनको सम्बोधन सुझबुझपूर्ण नै थियो।
आइतबार राउतको गतिविधि देखेर सरकार झस्किएको बताइन्छ। राउतले स्वतन्त्र मधेशको मुद्दा छोड्ने अपेक्षा गरिएको थियो। तर, झन् उल्टो मधेशलाई स्वतन्त्र बनाउने सरकारी लाइसेन्स प्राप्त गरेको भन्दै नेकपाकै नेता सहमतिको विपक्षमा उभिएका छन्।



लाेकपाटी न्यूज

